काठमाण्डौ । काठमाण्डौको कमलादीस्थित युनिग्लोब सेकेन्डरी स्कुल/कलेजको आयोजनामा एसईई फुटसल तथा बास्केटबल प्रतियोगिता हुने भएको छ। एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी उक्त प्रतियोगिताको आयोजना गरिएको हो।

प्रतियोगिता यही असार १६ गतेदेखि १८ गतेसम्म कमलादीस्थित युनिग्लोब सेकेन्डरी स्कुल/कलेजमा हुनेछ। फुटसलमा पुरुष टोली र बास्केटबलमा महिला तथा पुरुष दुवैका लागि प्रतियोगिता आयोजना गरिएको हो। 

फुटसलको विजेता टोलीले नगद रु. ५० हजार, उपविजेताले रु. ३० हजार र तृतीय हुनेले रु. २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै बास्केटबलतर्फ महिला र पुरुष दुवैतर्फबाट विजेताले रु. २५ हजार, उपविजेताले रु. १५ हजार र तृतीय हुनेले रु. १० हजार पाउनेछन्। 

फुटसलतर्फ ६४ वटा टिम र बास्केटबल पुरुषतर्फ ३२ वटा टिम र बास्केटबल महिलातर्फ १६ वटा टिम सहभागी हुनेछन्। 

कमलादीस्थित युनिग्लोब कलेजमा आज पत्रकार सम्मेलन गरी सम्पूर्ण टिमहरुलाई ओरियन्टेसन गरी कार्यक्रमका बारेमा जानकारी दिइएको थियो।

उक्त खेलमा यस वर्ष एसईई दिएर बसेका विद्यार्थीमात्र सहभागी हुन सक्नेछन् भने सहभागिताका लागि कुनै शुल्क नलाग्ने आयोजकले जनाएका छन्।