काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र नेपाल फाईनान्स लिमिटेड बीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।

स्मार्ट च्वाइस टेक्नोलोजिजको रजिष्टर्ड कार्यालय बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच स्मार्ट च्वाइस टेक्नोलोजिजको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र नेपाल फाईनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उद्घवराज थपलियाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई न्यूनीकरण गर्दै विद्युतीय कारोबारलाई बढुवा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्ट च्वाइस टेक्नोलोजिज र लामो समय देखि सर्वसाधारणलाई बैंकिङ्ग सेवा पु¥याउँदै आएको मूलुकको बैकिङ्ग क्षेत्रको अग्रणी संस्था नेपाल फाईनान्सको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिईएको बताइएको छ ।

स्मार्टच्वाइस टेक्नोलोजिजसंगको सहकार्यबाट नेपाल फाईनान्सले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्नेछ । एससीटीसँगको सहकार्यबाट उपलब्ध हुने चिप बेस एटीएम कार्डको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, ई–कमर्स जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने स्मार्ट च्वाइस टेक्नोलोजिजका का.मु. प्रमुख कार्यकारी अधिकृत दिपेश मास्केले बताए ।