काठमाण्डौ । पछिल्लो समय प्रति सेयर आम्दानी निकाल्न चलिआएको सूत्रलाई छाडेर  मनखुशी त्यस्तो आम्दानी निकाल्ने र सोही अनुसार विवरण प्रकाशित गरी लगानीकर्ता झुक्याउने खेल भइरहेको छ । यो खेलमा नियामक धितोपत्र बोर्ड, नेपाल राष्टबैंक मौन रहे पनि अगुवा लगानीकर्ताहरुले यो प्रवृतिको खुलेरै विरोध गरिरहेका छन् । गलत इपीएस निकालेर लगानीकर्तालाई झुक्याउने खेलमा वाणिज्य बैंकहरु लागेका देखिएको छ । 

यसअघि एनएमबी, माछापुच्छे र लक्ष्मी बैंकले समेत गलत इपीएस देखाएर लगानीकर्तालाई भ्रम छर्ने काम गरेको र ती विषय समाचार आइरहँदा समेत विदेशी लगानीको दुुई बैंक नेपाल एसबीआई र एनबी बैंकले समेत इपीएसमा कपट गरी गलत विवरण प्रकाशित गरेका छन् । 

यी दुुई वाणिज्य बैंकले शुक्रबार आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक विवरण प्रकाशित गरेका छन् । दुवै बैंकले प्रतिसेयर आम्दानी गलत हिसाब गरी प्रकाशित गरेपछि उनीहरुको समग्र हिसाबकिताब नै गोलमटोल भएको छ । 

सम्बन्धित कम्पनीले गरेको खूद नाफालाई सो कम्पनीको सोही अवस्थामा कायम सेयर संख्याले भाग गर्दा इपीएस आउँछ । अधिकांश बैंक तथा बित्तीय संस्थाहरुले इपीएस निकाल्न प्रयोग गरेको सूत्र यही हो । 

यही सूत्र प्रयोग गरेर हेर्दा एनबी बैंकले वास्तविक भन्दा ११ रुपैयाँ बढी इपीएस देखाएको छ । आर्थिक वर्ष २०७३/७४ मा नाफा तथा अन्य बित्तीय सूचकमा खासै प्रगति गर्न नसकेको यो बैंकले इपीएस २८ रुपैयाँ रहेको देखाएको छ । तर, यो बैंकले १ अर्ब २० करोड ३ लाख ८२ हजार खूद नाफा कमाएको र हाल उसको कायम सेयर संख्या ७ करोड २१ लाख ९० हजार ५ सय ९० कित्ता रहेको छ । यो सेयर संख्याले उसको नाफालाई भाग गर्दा १६.६२ रुपैयाँ मात्र इपीएस आउँछ । 

उता, स्टेट बैंक अफ इण्डियाको लगानी रहेको नेपाल एसबीआई बैंकले पनि इपीएसमा लगानीकर्ता झुक्याउने काम गरेको छ । यो बैंकले इपीएस ३०.६२ रुपैयाँ भएको देखाएको छ । जबकि हिसाब गर्दा यो बैंकको इपीएस २२ रुपैयाँ मात्र हुन आउँछ । नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०७३ ७४ को चौथो त्रैमाससम्म १ अर्ब ५३ करोड ९३ लाख २५ हजार खूद नाफा आर्जन गरेको छ । 

उसको हाल कायम सेयर संख्या ६ करोड ९२ लाख ४८ हजार ९ सय ३० कित्ता रहेको छ । यो सेयर संख्याले उसले कमाएको नाफालाई भाग गर्दा २२ रुपैयाँ इपीएस निस्किन्छ । 

एसबीआई र एनबी बैंकसँगै चौथो त्रैमासिक विवरण सार्वजनिक गरेका मेगा बैंक र बैंक अफ काठमाण्डूको इपीएस भने सही छ । उनीहरुले इपीएस निकाल्ने चलनचल्तीको सूत्र नै प्रयोग गरेका देखिएको छ । मेगा बैंकको इपीएस १७.२७ रुपैयाँ र बैंक अफ काठमाण्डूको २२.०१ रहेको छ । मेगाको ७९ करोड १४ लाख १३ हजार खूद नाफालाई उसको सेयर संख्या ४ करोड ४८ लाख २३ हजार १ सय ३० कित्ता सेयरले भाग गर्दा १७.२७ नै परिणाम निस्किन्छ । 

यसैगरी, ७२ करोडको हाराहारीमा खूद नाफा कमाएको हंगामा गरेको महालक्ष्मी विकास बैंकले समेत सही विधिबाटै इपीएस निकालेर शुक्रबार नै बित्तीय विवरण सार्वजनिक गरेको छ । उसको इपीएएस २६.९२ रुपैयाँ रहेको छ । यो बैंकको ७० करोड ९१ लख ४५ हजार खूद नाफालाई उसको हाल कायम सेयर संख्या २ करोड ६३ लाख ३७ हजार ९ सय ७० ले भाग गर्दा २६.९२ रुपैयाँ नै नतिजा आउँछ । 

इपीएसमा ठूला बैंकहरुले नै मनपरी गर्न थालेपछि सेयर बजारका जानकारहरुले समेत सामाजिक सञ्जालमार्फत लगानीकर्ताहरुलाई झक्झक्याउन थालेका देखिएको छ । एसबीआई बैंक र एनबी बैंकले इपीएसमा गरेको छलछामपछि नेपाली सेयर बजारका जानकार दिलिप मुंनकर्मीले एक स्टाटस पोस्ट गर्दै लगानीकर्तालाई झूठा विवरणको पछि नलागी चनाखो बन्न आह्वान गरेका छन्  उनको फेसबुक पोस्ट यस्तो छः

मुंनकर्मीको पोस्टमा कमेन्ट गर्दै बैंकर मनोज ज्ञवालीले केही फरक विधिबाट केहीले इपीएस निकालेका जिकिर गरे पनि यो निकाल्ने विधिमा एकरुपता औंल्याएका छन् । उनले गरेको कमेन्ट हेर्नुहोेस् :

सेयर बजारसँग सम्बन्धित कानूनका ज्ञाता ज्योति दाहालले सामाजिक सञ्जालमै इपीएसतर्फ लक्षित गर्दै भनेका छन्–‘एक आर्थिक वर्ष भित्र जुनसुकै तवरले थपिएको पूँजीलाई मात्रै लाभांश दिने विधि कायम गर्नुपर्ने हो जस्तो लाग्छ ।’

दिलिप मुुंनकर्मीले अर्को स्टाटस समेत पोस्ट गर्दै नियामक निकाय जाग्नुपर्ने माग गरेका छन् । इपीएसमा बैंकहरुले गरेको गडबडीलाई लक्षित गर्दै उनले यस्तो स्टाटस पोस्ट गरेका छन् :

केही वाणिज्य बैंकहरुले इपीएसमा गरेको छलछामको बिषयमा नेपाल राष्ट्रबैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले यो गम्भीर बिषय भएको भन्दै सम्बन्धित डिपार्टमेन्टलाई यो बिषयमा बुुझ्न लगाएर गलत इपीएस दिने वाणिज्य बैंकहरुलाई गल्ती सच्याउन लगाउने बताए । ‘आइतबार म रेगुलेसन डिपार्टमेन्टलाई के भएको हो बुुझ्न लगाउँछु, केही वाणिज्य बैंकले मात्र फरक सूत्र लगाएर इपीएस निकालेका रहेछन् भने उनीहरुले सच्याउनुपर्छ ।’–उनले बिजशालासँग भने । 

नेपाल धितोपत्र बोर्डका उपनिर्देशक अम्बिका गिरीले कुनै पनि कम्पनीले आर्जन गरेको खूद नाफालाई सो कम्पनीको सो बेला कायम सेयर संख्याले भाग गरेर नै इपीएस निकालिने स्पष्ट पार्दै त्यसभन्दा अर्को सूत्र प्रयोग गरी इपीएस निकालिएको भए त्यो मान्य नहुने प्रष्ट्याए । ‘तर के भएको रहेछ, मैले पनि  विस्तृतमा हेर्नुपर्छ ।’–उनले बिजशालासँग भने ।