काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुमा सयौं संख्यामा जागिरको अवसर खुलेको छ । 

नेपाल एसबीआई बैंक, लक्ष्मी बैंक, ज्योति विकास बैंक र बेष्ट फाइनान्स कम्पनी लगायतमा जागिरको बग्रेल्ती अवसर खुलेको हो । 

यी चारैवटा बित्तीय संस्थाले विभिन्न पदमा सयौं कर्मचारी मागेका हुन् । 

नेपाल एसबीआई बैंक लिमीटेडले इन्टी लेभलको जुनियर असिस्टेन्ट पदमा एकैपटक २ सय २७ कर्मचारी मागेको छ । 

कुनै पनि विषयमा ५० प्रतिशत अंक ल्याएर स्नातक उतीर्ण फ्रेस जनशक्तिले यो पदमा आवेदन दिनसक्ने जनाइएको छ । आवेदकको उमेर २८ वर्ष ननाघेको हुनुपर्नेछ । 

यसैगरी, लक्ष्मी बैंक लिमीटेडले समेत विभिन्न ४ पदमा दर्जनौ कर्मचारी मागेको छ । यो बैंकले १३ वटा नयाँ शाखाका लागि शाखा प्रबन्धक, टेलर सर्भिस अफिसर्स, असिस्टेन्ट रिलेसनसीप म्यानेजर र टेनी असिस्टेन्ट पदमा कर्मचारी मागेको हो । 

बैंकले दाङ, सुर्खेत, बर्दिया, सप्तरी, झापा, मोरङ, नूवाकोट, सिन्धुपाल्चोक, सोलुखुम्बु, नवलपरासी र चितवनमा खुल्न लागेका शाखाका लागि बढी कर्मचारी मागेको छ । केही कर्मचारी काठमाण्डौ उपत्यकाका लागि समेत माग गरेको छ । 

यस्तै, राष्ट्रिय स्तरको विकास बैंक ज्योति विकास बैंक लिमीटेडले ४ पदमा ४२ कर्मचारी मागेको छ । बैंकले २० शाखा प्रबन्धक, २० रिलेसनसीप म्यानेजर तथा अपरेशन इञ्चार्ज, एक ट्रेनिङ अफिसर र एक एक्जेक्यूटिभ सेक्रेटरी मागेको हो । 

यसैबीच, बेस्ट फाइनान्स कम्पनी लिमीटेडले समेत ४ पदमा दर्जनौ कर्मचारी मागेको छ । असिस्टेन्ट म्यानेजर तहमा काम गर्ने गरी कम्पनी सेक्रेटरी, केही ब्राञ्च म्यानेजर, काठमाण्डौ र बुटवलका लागि गोल्ड टेस्टर र केही ट्रेनी असिस्टेन्ट माग गरेको हो ।