काठमाण्डौ। नेपालको पहिलो एटीएम कार्ड सुविधा प्रदान गर्ने कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) को सञ्चालक समितिको अध्यक्ष पदमा सुमन पोखरेल नियुक्त भएका छन्। उनलाई गत कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो। 

नवनियुक्त अध्यक्ष पोखरेलले आज नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बीच डेपुटी गर्भनर डा. नीलम ढुंगाना तिम्सिनाबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। 

कार्यक्रमलाई सम्बोधन गर्दै डेपुटी गर्भनर तिम्सिनाले यस क्षेत्रमा कार्यरत कम्पनीहरुले सुरक्षा संवेदनशीलता, कारोबारको गोपनियता र नीतिगत व्यवस्थाको परिपालनामा ध्यान दिनुपर्नेमा जोड दिइन्। यसका साथै मूलुकको डिजिटल इकोसिस्टमको विकासमा सबै पक्षको सहयोग र सहभागिता जरुरी रहेको उल्लेख गर्दै उनले नेपाल राष्ट्र बैंक र यस क्षेत्रमा कार्यरत संस्थाहरुको सहकार्यबाट मात्र प्रगति सहज हुने बताइन्। 

कार्यक्रममा अध्यक्ष पोखरेलले आधुनिक भुक्तानी प्रणालीको विकासमा नेपाल राष्ट्र बैंकको विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्दै जाने नीतिअनुसार नयाँ सेवा तथा सुविधा प्रदान गरी यस क्षेत्रको विकासका लागि सधैँ अग्रसर रहने र नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने निर्देशन तथा मार्गदर्शनलाई पूर्ण पालना गर्दै अघि बढन प्रतिबद्घता व्यक्त गरे। 

कार्यक्रममा नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल, निर्देशक निश्चल अधिकारी, उपनिर्देशक तीर्थ ओझाका साथै एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुको उपस्थिति थियो। 

एससीटी बैंकिङ क्षेत्रमा भुक्तानीसम्बन्धी कार्यलाई सहज बनाउने उद्देश्यले सन् २००१ मा स्थापना भई सन् २००३ देखि सञ्चालनमा आएको नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा सञ्चालक (पीएसओ) को इजाजतपत्र प्राप्त कम्पनी हो। विभिन्न बैंक तथा वित्तीय संस्थाहरु यसका प्रवर्द्धक रहेका छन्। 

यस कम्पनीको सेवा २५ वटा बैंक तथा वित्तीय संस्थाहरुमार्फत प्रवाह भइरहेको छ। कम्पनीले भुक्तानीको कार्यलाई थप सहज बनाउन बैंकिङ कार्डको अलावा डिजिटल पेमेन्ट प्लेटफर्म, स्मार्ट क्यूआर, डिजिटल बैंकिङ सर्भिस र पेमेन्ट गेटवेको सेवासमेत उपलब्ध गराउँदै आएको छ।