काठमाण्डौ । नेपालमा कार्ड र भुक्तानी प्लेटफर्म प्रदायक कम्पनीका रुपमा अग्रणी भूमिका निर्वाह गरिरहेको स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी)ले आफ्ना सेवाहरुमा सुधारको घोषणा गर्नुका साथै आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। 

नेपालबाट सञ्चालित एससीटीले ‘क’ वर्गका वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थालाई विभिन्न प्रकारका कार्ड र भुक्तानी प्लेटफर्म उपलब्ध गराउँदै आएको छ। 

एससीटी नेपाललाई पहिलोपटक विल्कुलै नयाँ इन्टग्रेटेड सेयर्ड स्विचिङ पेमेन्ट नेटवर्क र डोमेस्टिक प्रोपाइटरी कार्ड योजनासँग परिचित गराउने पथप्रदर्शक रहेको छ। आज एससीटीले आफ्ना आयामहरुलाई अझ विस्तृत गर्दै विविध किसिमका सेवालाई एउटै छातामुनि एकीकृत गरेको छ। यसले दोहोरो इन्टरफेस (सम्पर्कसहित र सम्पर्कविहीन) देखि लिएर डेबिट र प्रिपेड कार्ड (घरेलु र अन्तर्रास्ट्रिय), एटीएम र पीओएसको परस्पर सम्बन्ध, बीएफआईहरुबीचको अन्तरसञ्चालन, अन्तर्राष्ट्रिय योजनाहरुको गेटवे, क्यूआरसी प्लेटफर्म र यसमार्फत वित्तीय प्रविधिको पूर्ण समाधानसम्मका विविधतापूर्ण भुक्तानी सेवाहरू प्रवाह गर्दै नेपालमा डिजिटल भुक्तानीको पूर्वाधार र विकासमा सघाउ पुर्याएको छ।

‘हामीले हाम्रो पोर्टफोलियोमा थपेका हाम्रो नयाँ सेवाहरु अगाडि ल्याउन पाउँदा हामी उत्साहित छौँ।  नेपाललाई डिजिटल भुक्तानीमा विश्वभर उत्कृष्ट प्रविधिमा आधारित बन्न मद्दत पुर्याउने कम्पनीको भिजनलाई नयाँ लोगोले संकेत गर्छ। क्यान इन्फोटेक प्रविधिको क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि आयोजना गरिँदै आइरहेको ‘इभेन्टमा’ हाम्रो लोगो र सेवाहरु सार्वजनिक गर्नु यस इभेन्टभन्दा उचीत अवसर अरु कुनै हुन सक्दैन’, सीईओ नारायणप्रकाश भुजु बताउँछन्।

सन् २००१ मा स्थापित एससीटी र एसीटी–नेटवर्कका रुपमा चिनिन्ने स्मार्ट च्वाइस टोक्नोलोजी लिमिटेड, नेपाल राष्ट्रिय बैंकअन्तर्गत लाइसेन्स प्राप्त भुक्तानी सेवा अपरेटर (पीएसओ) हो। एससीटीले नेपालका अधिकांश वाणिज्य बैंक, विकास बैंक, पीएसपी (पेमेन्ट सर्भिस प्रोभाइडर) र अन्य वित्तीय संस्थाहरुलाई विभिन्न कार्ड र भुक्तानी प्लेटफर्म उपलब्ध गराउँछ। 

एससीटीले आफ्ना सेवा र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रोसेसर र योजना (युनियन पे इन्टरनेस्नल, पल्स नेटवर्क र एफएसएस आदि) सँग रणनीतिक गठबन्धनमा पनि प्रवेश गरेको छ।