काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोही अवधिको तुलनामा ११.४१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब ५९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत १ अर्ब ६५ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आय १ अर्ब ४२ करोडरुपैयाँमा सीमित थियो। 

तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब १६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ७२ करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो। 

समीक्षा अवधिसम्म कम्पनीले १८ करोड ४० लाख खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १.०६ प्रतिशतले धेरै हो। गत वर्ष कम्पनीले १८ करोड २१ लाख नाफा आर्जन गरेको थियो। 

कम्पनीको व्यवस्थापन खर्च घटेर ४६ करोड ४१ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म व्यवस्थापन खर्च ४८ करोड २९ लाख रुपैयाँ थियो। 

कम्पनीको जीवन बीमा कोषको आकार बढेर ३० अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। जुन वर्षको तुलनामा २१.८९ प्रतिशतले बढी हो। गत वर्ष जीवन बीमा कोषमा २५ अर्ब ४२ करोड रुपैयाँमा सीमित थियो। गत वर्ष ७३ करोड ४ लाख रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार घटेर ४२ करोड ८२ लाख रुपैयाँमा खुम्चिएको छ। 

तेस्रो त्रैमाससम्म कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ९.६६ रुपैयाँ, पीई अनुपात ८२.२८ गुणा र प्रतिसेयर नेटवर्थ १२१.५७ रुपैयाँ रहेको छ।