काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) बोनस सेयरका लागि एसियन लाइफको सेयरमूल्य समायोजन प्रतिकित्ता ४७१.६२ रुपैयाँ कायम भएको छ। यसअघि अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ५४० रुपैयाँ कायम भएको थियो। अब आउँदो मंगलबार समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ। भोलि असोज ३ गते (सोमबार) संविधान दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको छ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले असोज ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २ गते (असोज ३ गते संविधान दिवस)सम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

कम्पनीले आफ्नो १४ औँ वार्षिक साधारणसभा आउँदो असोज १३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा बाराको सिमरास्थित होटेल क्लासिकमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५.२६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशतले हुन आउने नगद लाभांश छन्। 

सभाले बोनस सेयरपश्चातको हकसम्म जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

कम्पनीको हाल कायम पुँजी संरचनामा संस्थापक र सर्वसाधारण सेयरको ६०ः४० अनुपातलाई बीमा समितिको स्वीकृतिपश्चात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गरी संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने र तदनुरुप प्रबन्धपत्रको दफा ६(२) संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।