काठमाण्डौ । एसियन लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडले आफ्ना सम्पूर्ण भुक्तानी एनआईसी एसिया बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) मा आबद्ध भएको छ। सोहीअनुसार एसियन लाइफले आजबाट कारोबार सुचारु गरेको छ।  

यसरी एनपीआईमा रहेका कनेक्ट आईपीएस तथा एनसीएचएल–आईपीएस प्रणालीहरुमार्फत स्वचालित रुपमा एसियान लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानीलगायत आफ्ना कारोबार गर्न सक्नेछ। एसियन लाइफले बीमा प्रिमियम संकलनका लागि पहिलेदेखि नै विभिन्न डिजिटल माध्यमको प्रयोग गर्दै आएको थियो भने यस व्यवस्थापछि कम्पनीको सेवा सञ्चालन थप छरितो र सहज हुनुका साथै कम्पनीको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रक्रिया पनि थप व्यवस्थित हुने विश्वास गरिएको छ। यसका साथै लाभग्राहीले कम्पनीबाट भुक्तानी प्राप्त गर्न कम्पनी नै पुग्नुपर्ने वा चेक लिनु पर्ने व्यवस्थाको पनि अन्त्य भई भुक्तानी सोझै आफ्नो बैंक तथा वित्तीय संस्थाको खातामा प्राप्त गर्न सक्नेछन्।  

एसियन लाइफसँगै २८ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीको बीमा शुल्क (प्रिमियम) को संकलन  हाल अनलाइनमार्फत कनेक्ट आईपीएस ई–पेमेन्टबाट भइरहेको छ भने ६ वटा बीमा कम्पनी भने एनपीआई प्रणालीमा आबद्ध भइसकेका छन्। एनपीआई नेपाल क्लियरिङ हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसका रुपमा विकास गरी सञ्चालनमा रहेको छ। जसमा हाल ६१ सदस्य बैंक तथा वित्तीय संस्था आबद्ध छन् भने अन्य पीएसपी÷पीएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थालगायतका ५६ गैरबैंकिङ संस्था इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।  

एसियन लाइफ इन्स्योरेन्स प्रख्यात व्यावसायिक तथा व्यक्तिगत प्रवर्तकहरुद्वारा प्रर्वद्धित कम्पनी हो। १४ वर्षभन्दा बढीको सञ्चालन अवधिमा एसियन लाइफले आफ्ना १४६ शाखा तथा ९३ हजारभन्दा बढी एजेन्ट मार्फत ५ लाख ६८ हजारभन्दा बढी बीमाकर्तालाई बीमासम्बन्धी विभिन्न सेवा प्रदान गर्दै आएको छ।