काठमाण्डौ । संयुक्त राष्ट्रसंघअन्तर्गत विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ) र नेपाल पर्यटन बोर्डको आयोजना तीन दिवसीय वेटर डाटा फर वेटर टुरिजम इन साउथ एसिया एन्ड प्यासिफिक क्षेत्रीय कार्यशाला आज चैत १ गतेदेखि काठमाण्डौमा सुरु भएको छ। 

कार्यशाला चैत्र ३ गतेसम्म चल्नेछ। कार्यशालामा नेपाल, भारत, बगंलादेश, मलेसिया, माल्दिभ्स, इन्डोनेसिया, इरान, फिलिपिन्स, कम्बोडिया, लाओस, कोरिया, थाइल्यान्ड, स्पेनलगायत ११ देश तथा यूएनडब्ल्यूटीओका प्रतिनिधिहरु सहभागी छन्। 

यूएनडब्ल्यूटीले विश्व पर्यटनका विभिन्न आयामहरुमा छलफल गर्दै पर्यटन उद्योगलाई चलायमान गराउन विभिन्न क्षेत्रमा यस प्रकारका कार्यक्रम गर्दै आइरहेकोमा यो क्षेत्रीय कार्यक्रम नेपालमा आयोजना गरिएको हो। यो कार्यक्रमका माध्यमबाट विश्व पर्यटनका नयाँ आयामहरुका बारेमा थप जान्न तथा अनुभव आदानप्रदान गर्ने र दिगो पर्यटन विकासमा साझा धारणा तय गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ। 

कार्यक्रमको उट्घाटनसत्रमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले कोभिडले थलिएको पर्यटन उद्योगको विकास, विस्तार गर्न नयाँ गन्तव्य स्थलको खोजी गरी त्यसको विकास र विविधिकरण, पर्यटकीय पूर्वाधारको विकास, यस क्षेत्रमा लगानी बढाउनुका साथै पर्यटन उद्योगलाई ग्रामीण तहसम्म विकास र विस्तार गर्नुपर्ने बताए। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन क्षेत्रको प्रवर्द्धनमार्फत संख्यात्मक तथा गुणात्मक रुपमा पर्यटक आगमनमा वृद्धि गरी प्राप्त लाभको समन्यायिक वितरण गर्ने कार्यको पनि थालनी गर्न सबैले आ–आफ्नो ठाउँबाट प्रयास गर्नुपर्नेमा जोड दिँदै यो नेपालमा यो कार्यशाला आयोजना गरेकोमा यूएनडब्ल्यूयूटीओलाई धन्यवाद ज्ञापन गरे। 

यूएनडब्ल्यूटीका एक्सटर्नल रिलेसन निर्देशक बेका जकेलीले पछिल्लो समय पर्यटनको आयामहरु परिवर्तन हुँदै गएको सन्र्दभमा पर्यटकीय योजना तर्जुमादेखि प्रवर्द्धनात्मक कार्यका लागि गुणस्तरीय तथ्यांक आवश्यक हुने बताए। 

स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले कोभिडको प्रभाव कम हुँदै विश्व पर्यटन लयमा फर्किन थालेको यस समयमा नेपालमा आयोजना भएको यो कार्यशालामा विज्ञहरुका बीच हुने छलफल तथा बहसले विश्व पर्यटनलाई दिशानिर्देश गर्ने बताइन्। 

यस्तै गणतन्त्र कोरियाको संस्कृति खेलकुद तथा पर्यटन मन्त्रालयका डिजी जोङतायक पार्क भर्चुअल माध्ययमबाट मन्तव्य राख्दै कार्यक्रमले गुणस्तरीय तथ्यांकमा काम गर्न र एक–अर्को देशको अनुभव साटासाट गर्न कार्यक्रम फलदायी हुने अपेक्षासहित शुभकामना व्यक्त गरे। 

यूएनडब्ल्यूटीओको आयोजनामा नेपालमा भइरहेको यो कार्यक्रममा पर्यटनका विभिन्न आयामहरुमा हुने छलफल तथा पर्यटन तथ्यांकका विषयमा विभिन्न देशहरुका अनुभव आदान–प्रदानले पर्यटनका लागि नयाँ दृष्टिकोण तया पार्ने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बताए। 
तीन दिवसीय कार्यशालामा पर्यटनसँग सम्बन्धित विभिन्न सेसनमा छलफल हुन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए।