काठमाण्डौ । नेपालमा सुकुम्बासी व्यवस्थापन मुद्दा पुनः चर्किएको छ। 

काठमाण्डौ महानगरपालिकाले थापाथलीस्थित बागमतीकिनारको सुकुम्बासी बस्ती हटाउने कार्य अगाडि बढाएसँगै फेरि यो मुद्दा चर्किएको हो। अहिले दैनिकजसो प्रदर्शन भइरहेको छ। प्रदर्शनका क्रममा दर्जनौँ मानिसहरु घाइते पनि भइसकेका छन्।

त्यसो यो मुद्दा नयाँ भने होइन। वर्षौंदेखि सुकुम्बासीको समस्या समाधान गर्न राज्य असफल हुँदै आएको छ। मुलुकमा शासन व्यवस्था फेरियो, प्रधानमन्त्री अनि मन्त्रीहरु फेरिए तर यो समस्याको दीर्घकालीन समाधान भने अहिलेसम्म निस्किन सकेको छैन। 

थापाथलीको बागमती किनार बसेका सुकुम्बासीहरु आफूहरुलाई राम्रो विकल्प नदिएसम्म त्यहाँबाट नहट्ने पक्षमा छन्। त्यहाँ १४३ घरधुरी छन्। २०६० सालदेखि उनीहरुले बागमती अतिक्रमण गरी बस्ती बसाल्न थालेका थिए। 

यता महानगरपालिका मेयर बालेन साह भने बागमती अतिक्रमणकारीलाई जसरी पनि हटाउने पक्षमा छन्। 

त्यसो त सरकारले सुकुम्बासीका लागि ८ वर्षअघि नागार्जुन नगरपालिकामा निर्माण गरिदिएको सार्वजनिक भवन अझै सञ्चालनमा आउन सकेको छैन। किनकि त्यहाँ जान सुकुम्बासीहरु मान्दैनन्। 

पछिल्लो यो घटनाले राजनीतिक मोड पनि लिँदै गएको छ। 

नेपालमा सुकुम्बासी समस्या फेरि चिर्किरहेकै बेला भारतका सबैभन्दा धनीव्यक्ति गौतम अडानीले मुम्बईको धारावीमा रहेको भारतकै ठूलो सुकुम्बासी बस्तीमा सुविधासम्पन्न भवन बनाउने ठेक्का पाएका छन्। 

अडानीको अडानी इन्टरप्राइजेजले उक्त सुकुम्बासी बस्तीमा सुविधासम्पन्न भवन बनाउने ठेक्का पाएको हो। यो समूहले त्यहाँ ५० अर्बको लागतमा बस्ती पुनर्निर्माणको जिम्मा पाएको मुम्बई राज्य सरकारका अधिकारीहरु बताउँछन्। 

धारावी भारतको मात्रै नभएर एसियाकै ठूलो सुकुम्बासी बस्ती रहेको बताइएको छ। जहाँ हजारौँ गरिब परिवार छाप्रो बनाएर बसेका छन्। यो बस्ती भारतको वित्तीय राजधानीको केन्द्रविन्दुमा रहेको छ। 

धारावीमा रहेको सुकुम्वासी बस्तीको अवस्था दर्दनाक छ। त्यहाँ खानपानीको सुविधा छैन। शौचालय सफा गर्ने पानीसमेत नहुँदा बर्सेनि ठूलो संख्यामा मानिसहरु विभिन्न रोगबाट पीडित बन्ने गरेका छन्।

यो सुकुम्बासी बस्तीको पुनर्निर्माणका लागि १९८० देखि पहल भइरहेको थियो। सुविधासम्पन्न भवन र पूर्वाधार खडा गरी त्यहाँ बसोबास गर्नेलाई उपलब्ध गराउने भनिएको थियो। 

अडानी समूहले पनि त्यहाँ सुविधासम्पन्न घरहरु र आवश्यक भौतिक पूर्वाधार निर्माण गरी सुकुम्बासी परिवारलाई उचित बसोबास गर्ने योजना बनाएको छ। यसका लागि अडानीले ५० अर्ब रुपैयाँ बोलकबोल गरेका छन्। जुन अर्को रियल स्टेट ग्रुप डीएलएफ बोलकबोलभन्दा दोब्बर बढी हो। ‘डीएलएफले २० अर्ब रुपैयाँको बोली लगाएको थियो’, धारावी रिडेभपमेन्ट प्रोजेक्टका सीईओ एसभीआर श्रीनिवासले भने।

श्रीनिवासका अनुसार पुनर्निर्माणपछि एउटा हेर्न लायक सहरका रुपमा विकास हुनेछ। ‘त्यहाँ व्यावसायिक र आवासीय दुवै किसिमले विकास हुनेछ’, उनले भने।

धारावीमा रहेको उक्त सुकुम्बासी बस्तीले करिब २५३ हेक्टर जमिन ओगटेको छ। ‘अडानी समूहको यो विश्वकै ठूलो सहरी निर्माण योजना हुनेछ’, श्रीनिवासले भने।