काठमाण्डौ। कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्रगति फैलिन थालेपछि विश्वभर फेरि त्रासको वातावरण सिर्जना भएको छ। 

ओमिक्रोन संक्रमण रोकथाम र नियन्त्रणका विभिन्न देशहरुले प्रतिबन्धात्मक नियमहरु लागू गर्न थालेको छ। कतिपय देशहरुले विभिन्न देशबाट हुने यात्रालाई प्रतिबन्ध नै लगाएका छन्। 

नयाँ भेरिएन्टकै कारण विश्वभर दैनिकजसो हवाई यात्रा प्रभावित भइरहेको छ। हिजो मंगलबारमात्रै विश्वभर एकैदिन २ हजार ८०० उडान रद्द गरिएका छन्। 

हिजो एकैदिन अमेरिकाबाट हुने १ हजार उडान रद्द भएका छन्। 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार मंगलबार ८ हजार उडान ढिला गरी भएका छन्। 

गत सोमबार पनि विश्वर एकैदिन २८०० उडान रद्द भएका थिए भने ११ हजार उडान ढिला गरी भएका थिए। 

क्रिसमसमा मात्रै विश्वभर ६ हजार उडान रद्द भएका थिए। अमेरिकामा मात्रै आइतबार १ हजार २०० उडान रद्द भएका थिए भने ५ हजार हजार उडान ढिला गरी भएका थिए। 

क्रिसमसमा अमेरिकालगायत विश्वमा धेरै मानिस आवतजावत गर्ने समय हो। यो समयमा ओमिक्रोनको त्रासका कारण उडान रद्द हुँदा हजारौँ यात्रु प्रभावित भएका छन्। 

गत शनिबारमात्रै १ करोड ५३ लाख मानिस विमानस्थल सेक्युरिटी चेकबाट पास भएको र उडान अवरुद्ध हुँदा प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। 

गएको साताभरमा  अमेरिकामा मात्रै १ लाखभन्दा बढी उडान रद्द भएका थिए। 

यसैगरी युरोपियन उडान पनि प्रभावित भएको समचार अन्तर्राष्ट्रिय माध्यमले जनाएका छन्। जर्मन एरलाइन्स लुफ्थान्साले विन्टर सिजनमाा १० प्रतिशत उडान रद्द हुन सक्ने जनाएको छ। लुप्थान्साका सीईयो कारस्टन स्पोरले आउँदो जनवरीमा आफ्नो कम्पनीको ३३ हजार उडान रद्द हुन सक्ने बताएका छन्। – एजेन्सी