काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले डेल्टा र ओमिक्रोन भेरिएन्ट मिलेर विश्वभर कोभिडको खतरनाक सुनामी ल्याइरहेको चेतावनी दिएको छ। 

डब्ल्यूएचओ प्रमुख टेड्रोस एडनोम ग्याब्रियेससले यस्तो चेतावनी दिएका हुन्। ग्याब्रियेससको यो चेतावनी यस्तो बेला आएको छ जब अमेरिका र युरोपमा कोरोना संक्रमणको रेकर्डतोड मामिलाहरु देखा परिरहेका छन्।

फ्रान्समा लगातार दोस्रो दिन २ लाख ८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। पूरै युरोपमा कुनै एक देशमा एक दिनमा यति धेरै पुष्टि भएको पहिलो रेकर्ड हो। 

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा पछिल्लो साता एक दिनमै औसत २ लाख ६५ हजारमा कोरोना पुष्टि भएको थियो। 

डेनमार्क, पर्चुगल, बेलायत, अस्ट्रेलियामा पनि संक्रमणको आँकडा तीव्रगतिमा बढिरहेको छ। 

पोल्यान्डमा बुधबार कोभिड संक्रमणबाट ७९४ जनाको मृत्यु भयो। जुन महामारीको चौथो लहरको सबैभन्दा बढी हो। मृतकमध्ये तीन चौथाइभन्दा बढीले खोप लगाएका थिएनन्।

ओमिक्रोन थुप्रै देशमा डोमिनेन्ट भेरिएन्ट बनिसकेको छ। अध्ययनहरुले ओमिक्रोन डेल्टाभन्दा कम घातक देखि भए संक्रमण बढाउनमा निकै अगाडि देखिएको छ। ओमिक्रोनकै कारण हाल विश्वभर संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएको अध्ययनहरुले पुष्टि गरेका छन्।

डब्ल्यूएचओ प्रमुखले भने ओमिक्रोन र डेल्टा दुवै मिलेर विश्वभर संक्रमण तीव्रगतिमा बढाइरहेको बताएका छन्। ‘बढ्दो संक्रमणले स्वास्थ्यकर्मीहरुमाथि ठूलो दबाब सिर्जना भइरहेको छ भने आउँदा दिनमा अझै बढ्न सक्नेछ’, उनले भने, ‘यसले स्वास्थ्य प्रणालीहरुमा कमजोर पार्दै लैजाने खतरा बढेको छ।’

हाल विश्वभर हरेक दिन ९ लाख बढी मानिस कोरोनाबाट संक्रमित भइरहेको पछिल्लो तथ्यांकहरुले देखाएका छन्। – एजेन्सी