काठमाण्डौ । फाइजर बायोएनटेक कम्पनीले कोभिडविरुद्ध उसले उत्पादन गरेका खोपको बुस्टर मात्राले ओमिक्रोन भेरिएन्टविरुद्ध प्रभावकारी प्रतिरक्षा विकास गर्ने दाबी गरेको छ। 

अन्य भेरिएन्टविरुद्ध दुई मात्रा लगाउँदा विकास हुने एन्टिबडी अर्थात् रोग प्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध तीनमात्रा लगाउँदा प्राप्त हुने कम्पनीले अनुसन्धानबाट प्रमाणी भएको दाबी गरेको छ। यसअघि कोभिडविरुद्धका खोपहरु नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरुलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको थियो।

विश्वभरका अध्ययनकर्ताहरुले ओमिक्रोनबारेका तथ्यांकलाई नजिकबाट नियालीरहेका छन्। ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकारमध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरिएन्ट हो।

फाइजरले बुधवार एउटा विज्ञप्ति सार्वजनिक गर्दै खोपको तेस्रो मात्राले ओमिक्रोनविरुद्ध सुरक्षा बढाउने जनाएको हो। तर उक्त कम्पनीले पछिल्लो नतिजा प्रारम्भिक रहेको बताउँदै ‘वास्तविक प्रभावकारिता मूल्यांकन’ गर्नका लागि तथ्यांक संकलन जारी राख्ने जनाएको छ। 

फाइजरले ओमिक्रोनलक्षित खोप विकास गरिरहेको र त्यो एकसय दिनभित्र वितरण गर्नका लागि तयार हुने जनाएको छ। उक्त खोप नियामक निकायहरुबाट स्वीकृत हुनुपर्छ। –बीबीसीबाट