काठमाण्डौ। बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा बढ्न थालेपछि बेलायतमा आपतकाल घोषणा गरिएको छ। 

ओमिक्रोनको फैलावट व्यापक बनेपछि प्रधानमन्त्री बोरिस जोनसनले बेलायतमा आपतकाल घोषणा गरेका हुन्। ओमिक्रोन व्यापक फैलिनेमा कुनै आशंका नभएको भन्दै उनले समयमै सतर्कता अपनाउनसमेत देशवासीलाई आग्रह गरेका छन्। 

यसैबीच बेलायतमा ओमिक्रोन संक्रमण रोकथाम र नियन्त्रणका लागि १८ वर्षभन्दा माथिका सबै नागरिकलाई यही साताबाट बुस्टर डोज खोप लगाइने भएको छ। बेलायतले आउँदो जनवरीको अन्त्यदेखि मात्रै बुस्टर खोप लगाउने योजना बनाएको थियो। तर, ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढेपछि बुस्टर खोप अभियान एक महिना अगाडि सारिएको हो।

पछिल्लो समय बेलायतमा दैनिक ५० हजारको हाराहारीमा नयाँ संक्रमित फेला पर्न थालेका छन्। तीमध्ये १० प्रतिशत ओमिक्रोनबाट संक्रमित भइरहेको देखिएको छ। –एजेन्सी