काठमाण्डौ । ओमिक्रोन संक्रमणको लहर तुलनात्मक रुपमा मध्यमस्तरको मात्रै भएको बेलायत र दक्षिण अफ्रिकामा गरिएका प्रारम्भिक अध्ययनहरुले देखाएका छन्।

प्रारम्भिक नतिजाले अन्य भेरिएन्टले संक्रमण भएका व्यक्तिभन्दा ओमिक्रोन भेरिएन्टले संक्रमण भएका ५० देखि ७० प्रतिशतसम्म कम मानिस अस्पताल भर्ना हुनुपर्ने देखाएको छ। तर, ओमिक्रोन संक्रमित थोरै मात्रै अस्पताल पुगे पनि यसले एकदमै धेरै मानिसलाई चाँडो संक्रमित गर्न सक्ने हुँदा अस्पतालमा भीड हुनसक्ने चिन्ता व्यक्त गरिएका छन्।

बेलायतमा बुधबार सर्वाधिक दैनिक संक्रमण पुष्टि हुँदा १ लाखभन्दा धेरै मानिस संक्रमित भएका छन्। ओमिक्रोन भाइरसको खतराबारे यथेष्ट जानकारी उपलब्ध हुँदा देशहरुलाई यसविरुद्ध योजना बनाउन सहज हुन्छ।

स्कटल्यान्डमा गरिएको अध्ययनमा कोभिडबाट कति बिरामी भए र उनीहरुमध्ये कति अस्पताल पुगे भन्ने तथ्यांक हेरिएको छ।

त्यसले ओमिक्रोन पनि डेल्टा भेरिएन्टजस्तै जोखिमपूर्ण हुने हो भने अस्पतालमा ४७ जना बिरामी भर्ना हुनुपर्ने तर अहिले १५ जना मात्रै बिरामी भर्ना भएको बताएको छ।

अध्ययनकर्ताहरुले अस्पताल भर्ना हुने संख्यामा लगभग दुई तिहाइ कमी देखिएको बताएका छन्। यद्यपि अध्ययनमा निकै कम बिरामी र जोखिममा रहेका जनसंख्याको तथ्यांक छ।

पब्लिक हेल्थ स्कटल्यान्डका कोभिड–१९ निर्देशक डा. जीम म्याकमेनानीनले यो ‘एउटा राम्रो समाचार‘ भएको बताएका छन्। यो तथ्यांकले अस्पताल भर्ना विषयमा ‘थाहा पाउन बाँकी कुरा केही भनेको’ बताउँदै उनले यसकै आधारमा ‘केही हुँदैन भनेर बाहिर निस्कन’ नहुने बताए।

ओमिक्रोन भेरिएन्ट फैलिएको गतिले यो कम खतरा हुँदाको फाइदालाई जितेको उनले बताए।

एडिनबर्ग विश्वविद्यालयका प्राध्यापक मार्क वुलहाउसले भने, ‘अधिकांश जनसंख्याका लागि व्यक्तिगत रुपमा यसको संक्रमण कमजोर हुन सक्छ तर यी सबै संक्रमणहरु एकै पटक हुँदा अस्पतालमा भिड लाग्न सक्छ।‘

दक्षिण अफ्रिकामा गरिएको अर्को अध्ययनले पनि ओमिक्रोनको लहर कम खतराको भएको देखाएको छ। अध्ययनले अन्य लहर र अन्य भेरिएन्टको संक्रमणको तुलनामा ७० देखि ८० प्रतिशत कम अस्पताल भर्ना हुनुपर्ने अवस्था आउने देखाएको छ। तर अध्ययनले अस्पताल पुग्ने बिरामीका लागि यो भेरिएन्ट र अन्य भेरिएन्टको संक्रमणमा खास फरक नदेखिएको देखाएको छ। 

ओमिक्रोन भेरिएन्ट कम घातक हुनुका कारण यसको बनौट र खोप वा संक्रमणका कारण मानव शरीरमा बनेको प्रतिरोधी क्षमतालाई मानिएको छ।

बेलायतमा गरिएको एक अध्ययनले ओमिक्रोनलाई उत्परिवर्तनले डेल्टाभन्दा कम घातक बनाएको देखाएको छ। अध्ययनकर्ताहरुले खोप नलगाएको वा पहिले संक्रमण नभएका व्यक्तिमा पनि ओमिक्रोन संक्रमण हुँदा अस्पताल जानुपर्ने अवस्था ११ प्रतिशतले कम हुन्छ। सो अध्ययनले प्रतिरोधी क्षमता विकास गरेका मानिसमा ओमिक्रोन संक्रमण हुँदा अस्पताल जानुपर्ने अवस्था २५ देखि ३० प्रतिशतले कम हुने र एक दिनभन्दा बढी अस्पतालमा बस्नुपर्ने अवस्था ४० प्रतिशतले कम हुने नतिजा निकालेको छ।

एक अध्ययनकर्ता डा. नील फर्गुसनले भने, ‘यो स्पष्ट रुपमा एक हदसम्म राम्रो खबर हो।’

यद्यपि फर्गुसनले यो कमीले अहिलेको अवस्थालाई नाटकीय रुपमा फरक पार्न यथेष्ट नभएको र धेरै संक्रमित हुँदा अस्पतालमा चाप बढ्न सक्ने बताए।

अन्य प्रयोगशाला अध्ययनहरुले पनि ओमिक्रोन कम घातक हुने कारणहरुबारे बताएका छन्।

हङकङ विश्वविद्यालयले ओमिक्रोनले श्वासनलीमा धेरै असर गर्ने तर फोक्सो भित्र धेरै असर गर्न नसक्ने बताएको छ।

केम्ब्रिज विश्वविद्यालयले गम्भीर बिरामी पार्ने गरी फोक्सोको कोषलाई असर गर्न नसक्ने बताएको छ।

बेलायतले चाँडैले ओमिक्रोन संक्रमणका बारेमा तथ्यांक प्रकाशन गर्ने बताइएको छ। जसले यसका ल्याएको अवस्थामा बारेमा थप जानकारी हुनेछ। –बीबीसीबाट