काठमाण्डौ । ओम डेभलपमेन्ट बैंकका अध्यक्ष सुशीलकुमार घोषालीले लामो समयसम्म मर्जमा अलमलिने बाध्यताले सेयरधनीको सम्पत्ति बन्धक भएको भन्दै आफूहरुलाई माफी गरिदिन अनुनय गरेका छन् । 

यो बैंकले गत भदौ ३ गते प्राइम कमर्सियल बैंकसँग मर्जर सम्झौता गरेको थियो । मर्जर सम्झौताका कारण सोही बेलादेखि बैंकको दोश्रो बजार कारोबार रोक्का छ । प्राइमसँग मर्ज टुटेपछि कारोबार खुल्ने लगानीकर्ताको आशा थियो, तर एनएमबी बैंकसँग मर्जको अर्को सम्झौता भएपछि पुनः कारोबार खुल्नेछैन । 

मर्जर कमिटीका अधिकारीहरुको दाबीलाई मान्दा पनि पहिला र अहिलेको समेत जोडी करिब एक वर्ष ओमका सेयरधनीले आफ्नो सेयर किनबेच गर्नबाट बञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ । 

एनएमबी बैंकसँग मर्जर समझदारी गर्न आयोजित समारोहमा बिजशालाले सेयरधनी(लगानीकर्ता)ले भोगिरहेका यही पीडाको प्रसंग उठाएको थियो । हाम्रो जिज्ञासालाई सम्बोधन गर्ने क्रममा घोषालीले सेयरधनीहरुँसग माफी मागेका हुन् । 

‘प्राइमसँगको मर्जर ८ महिनापछि टुट्यो, यो परिस्थितिवस भएको हो । बिहेबारी र मर्ज भन्ने कुरा एउटै–एउटै हुँदो रहेछ, देखेको होइन लेखेको मात्र पाइँदो रहेछ ।’ भावुक हुँदै उनले भने–‘सेयरधनीको विषयमा हामी दुःखी छौ, सबैले फोन गर्छन् । सेयर कारोबार गर्न पाएका छैनन्, यो पीडाप्रति हामी निकै दुःखी छौ । हामी क्षमा चाहन्छौ, हामीले चाहेर यस्तो गरेको होइन । हात जोडेर निवेदन गर्न चाहन्छु, हाम्रो केही गल्ती छैन, गल्ती भए पनि माफी दिनुहोला ।’

सो क्रममा उनले प्राइमसँग मर्जर टुट्नुको कारण पनि बताएका थिए । मर्जर सम्झौताको १९ नम्बर बुँदामा भएको व्यवस्था विपरीत आफूहरुलाई जानकारी नै नदिई प्राइमले साधारणसभा बोलाएपछि आफूहरु सशंकित बनेको र मर्जरबाट पछि हटेको उनले सो क्रममा खुलाए । 

‘उहाँहरुलाई के बाध्यता पर्यो कुन्नि, हामीलाई थाहै नदिई छुट्टै एजीएम प्रस्ताव गर्नुभएछ ।’ घोषालीले भने–‘एमओयूको १९ नम्बर बुँदामा एकीकृत कारोबारपछि संयुक्त एजीएम गरेर दुवैको नाफा बाँडेर साधारणसभा गर्ने सम्झौता थियो, उहाँहरुले त्यो दफालाई बिर्सिनुभयो । कर्मचारी आन्दोलन पनि अर्को कारण बन्यो ।’

उनले प्राइमको एकतर्फी एजिएम घोषणाका कारण ओमका सेयरधनीले पाउने बोनसमा २.३४ प्रतिशत घाटा लाग्ने अवस्था बनेको र प्राइममा ओमको तर्फबाट संचालक समेत निर्वाचित भएर जान नसक्ने परिस्थिति बनेपछि बाध्य भएर पछाडि हट्नु परेको दाबी गरे ।

‘त्यो कुरामा चित्त नबुझेपछि हामी टाढा हुँदै गयो, १९ नम्बर बुँदा कार्यान्वयन गर्न नसक्ने अवस्था भयो । प्राइमले १९ नम्बर बुँदा उल्लंघन गरेकोले डिमर्ज हुन पाऊ भनी राष्ट्रबैंक गएका हौ ।’–उनले थपे ।

उनले ओमले घोषणा गरिसकेको १२ प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने २ अर्ब ८३ करोड चुक्तापूँजीको आधारमा ओमसँगको सेयर स्वाप कायम हुने सम्झौता भएको खुलाउँदै भनेका छन्–‘आकाशै खस्यो भने त्यो बेग्लै कुरा हो, तर एनएमबी बैंकसँगको मर्जर प्राइमसँगको जस्तो टुट्दैन । छिटो समयमा सफल भई हामी एकीकृत कारोबारमा आउनेछौ।’