काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले जारी गर्न लागेको आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ। 

ओम मेगाश्री र प्रभु क्यापिटलबीच आज आईपीओ बिक्री प्रबन्धक नियुक्तिका सम्बन्धमा सम्झौता भएको हो। ओम मेगाश्री फर्मास्यूटिकल्सको बानेश्वरस्थित कार्यालयमा आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा मेगाश्री फर्मास्युटिकल्सका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्। 

गैरआवसीय नेपाली, औषधी व्यवसायमा विज्ञता हासिल भएका व्यक्ति तथा विशेषज्ञ डाक्टरहरु आबद्ध तथा ईयू फर्मा टेक्निकल सपोर्ट रही ओम मेगाश्री फर्मास्युटिकल्सको औषधि उत्पादन गर्ने उद्योग भरतपुरमा रही कम्पनीले युरोपियन गुड म्यानुफ्याक्चरिङ प्राक्टिसेज (जीएमपी) स्ट्यान्डर्डसअनुसार औषधि उत्पादन गर्दै आएको छ।

नेपाल सरकार औषधी व्यवस्था विभागमा जम्मा ५६ प्रकारका औषधि उत्पादनका लागि प्रक्रिया सुरु गरेकोमा कम्पनीले हाल ३१ प्रकारका विभिन्न औषधि उत्पादन गर्नका लागि अनुमति प्राप्त गरिसकेको छ। बाँकी उत्पादन स्वीकृतिको प्रक्रियामा रहेको तथा फर्मास्युटिकल्स क्षेत्रमा पहिलो भई सर्वसाधारणमा सेयर जारी गर्ने निर्णय कम्पनीले गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।