काठमाण्डौ । नेकपाको प्रचण्ड-माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्न सिफारिस गरेको छ । 

केहीबेरअघि सकिएको बैठकले ओलीमाथि अनुशानसको कारबाही गर्न केन्द्रीय कमिटी बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमै बसेको बैठकले पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । सोही बैठकले ओलीलाई अनुशासनको कारबाही गर्नेछ । 

यस्तै, आजको बैठकले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय समेत गरेको छ । 

यो समूहको स्थायी कमिटी बैठक भोलि पनि बस्ने बताइएको छ । 

ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेका पार्टी उपाध्यक्ष बामदेव गौतम स्थायी कमिटी बैठकमा पनि सहभागी थिएनन् ।