काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहानै आकस्मिक मन्त्रीपरिषदको बैठक डाके । बैठकले संसद विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको खबर बाहिरिएपछि धेरै चकित परे । रातारात ओली संसद विघटनजस्तो गम्भीर निर्णय लिने निश्कर्षमा किन पुगे ? संसद विघटनको सिफारिस गर्ने यति हतारो उनलाई किन परेको थियो होला ? 

ओली अध्यक्ष रहेको पार्टी नेकपास्थित उच्च स्रोतका अनुसार प्रचण्ड र माधव नेपाल पक्षले ओलीलाई आइतबार बिहानै संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेकै कारण ओलीले संसद विघटनको हतारो रहेका रहेछन् । 

नेकपामा ९० सांसदहरुले आइतबार बिहानै ओलीविरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका नेकपाका सचेतक देव गुरूङले पनि पुष्टि गरेका छन् । 

स्रोतकाअनुसार सो प्रस्तावको दर्ता नम्बर १ रहेको छ । 

संविधानको धारा १०० को उपधारा ४ बमोजिम आफूहरूले अविश्वास प्रस्ताव दर्ता गरिएको नेताहरुले बताएका छन् । उक्त उपधारामा संसदका एक चौथाइ सदस्यले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नसक्ने व्यवस्था छ। 

तर, गुरूङले भने संसद विघटनका लागि सिफारिस गरेपछि मात्र उनीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिएको जिकिर गरेका छन् । 

तर, ओली निकट एक नेताले भने रातारात ओलीलाई हटाउने उद्देश्यले संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि ओली संसद विघटन गर्न बाध्य भएका जिकिर गरे ।