काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही बेरपछि आकस्मिक पत्रकार सम्मेलन बोलाएका छन् । 

उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले साढे १२ बजे पत्रकार सम्मेलन बोलाएका हुन् । यो सम्मेलन विशेष भएको र यहाँ सम्पादकहरुलाई डाकिएको बताइएको छ । 

भावी सरकार गठनका लागि तीव्र रस्साकस्सी चलिरहेको बेला प्रम ओलीले पत्रकार सम्मेलन बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

केही विश्लेषकहरुले भने राष्टपतिले प्रधानमन्त्रीले राजीनामा नदिई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेको भन्दै तीव्र आलोचना भएका कारण प्रधानमन्त्रीले कुनै महत्वपूर्ण घोषणा गर्न पत्रकार सम्मेलन बोलाएका हुनसक्ने दाबी गरेका छन् । 

'केही घण्टाकै लागि भए पनि राजीनामा दिने र फेरि जसपाको महन्थ ठाकुर पक्षको समर्थनमा धारा ७६(५) अनुसार बहुमतको प्रधानमन्त्री बन्ने योजना हुनसक्छ ।' स्रोतले भन्यो-'यदि त्यसो हो भने प्रधानमन्त्रीले पत्रकार सम्मेलन गरी राजीनामा दिनसक्छन् ।'