काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बसेको मन्त्रीपरिषद बैठकको सुरुवातमै सम्बोधन गर्दै आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको सूचना आएको दाबी गरेका छन् । 

बैठकमा सहभागी मन्त्रीहरुकाअनुसार प्रम ओलीले कोटेश्वरमा बसेर सरकारविरुद्ध षड्यन्त्र भएको र अविश्वासको प्रस्ताव ल्याउने तयारी रहेको भन्दै त्यस्ता सबैखाले षड्यन्त्रलाई परास्त गर्ने समेत बताएका थिए । उनको सोझो प्रहार पार्टीका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालप्रति लक्षित छ । 

दिनहुँजसो प्रधानमन्त्रीले पार्टीभित्र तरंग ल्याउने गरी अभिव्यक्ति दिइरहँदा सबैमा एउटै जिज्ञासा देखिएको छः के साच्चिकै ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको हो ? 

स्रोतहरुका अनुसार ओलीले पछिल्लो समय निहुँ खोजिरहेका र पार्टी फुटाउने कसरत गरेका भन्दै पुष्पकमल दाहाल(प्रचण्ड), माधवकुमार नेपाल समूहले अविश्वासको प्रस्ताव ल्याएर हटाउनुपर्ने विषयमा छलफल सुरु गरिसकेको छ । यही सूचना ओलीसम्म पुगेका कारण पछिल्लो समय उनी आफैंले आफूविरुद्ध षड्यन्त्र भइरहेको अपुष्ट सूचनाहरुलाई यो वा त्यो नाममा पुष्टि गरिरहेका छन् । 

बुधबार उनले एक कार्यक्रमलाई सम्बोधन गर्दै आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताएका थिए । यो अभिव्यक्तिका कारण राष्ट्रिय राजनीतिमै तरंग आएको छ । 

बिहीबार पनि उनले मन्त्रीपरिषद बैठकलाई सम्बोधन गर्दै कोटेश्वर(पेरिस डाँडा)मा आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने षड्यन्त्र भइरहेको बताएका छन् । यो दिन प्रचण्ड र नेपाल समूहले पेरिसडाँडामा केही कानून व्यवसायीहरुसँग बोलाएर ओलीले चाल्नसक्ने कदम र त्यसको प्रतिवाद कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए । उनीहरुले अविश्वासको प्रस्ताव लगायतको विषयमा समेत छलफल गरेपछि सोही सूचना ओलीसम्म पुगेको स्रोत दाबी गर्छ । 

प्रचण्ड–नेपालनिकट स्रोतहरुकाअनुसार ओलीले पछिल्लो समय सहमतिका लागि कुनै प्रयास नगरेपछि र पार्टी फुटाउने अन्तिम तयारी गरेका कारण अब अविश्वासको प्रस्तावको विकल्प छैन । यही निश्कर्षसहित यो समूूहका दोश्रो तहका नेताहरु सकेसम्म अर्को साताभित्र नेतृत्वलाई सहमतिमा ल्याउने र यस्तो प्रयासमा ओलीको असहयोग कायम रहे छैठपछि अविश्वासको प्रस्ताव दर्ता गर्ने मनस्थितिमा रहेका दाबी स्रोतहरुको छ । 

प्रचण्ड र नेपाल पक्ष मिलेर अविश्वासको प्रस्ताव दर्ता गरे भने ओलीको सत्ता टिक्न गाह्रो छ, किनभने संसदीय दलमा ओली समूहको बहुमत छैन ।

प्रचण्ड र नेपाल मिले भने बहुमत पुग्ने भएका कारण समेत ओली पछिल्लो समय सत्ता संकटको अनुभूति गर्दै एकपछि अर्को हतास अभिव्यक्ति दिने अवस्थामा पुगेका स्रोतहरुको बुझाई छ । 

आफ्नो सत्तामा संकटको बादल मडारिन थालेका कारण ओलीले माधवकुमार नेपाललाई फकाउने प्रयास गरिरहेका छन् । ओली र उनका दूतहरुले माधवकुमार नेपालसमक्ष पूर्व एमालेहरु एक ठाउँमा उभिनुपर्ने प्रस्ताव पुर्याएका छन् । तर, नेपालले यस्तो प्रस्ताव ठाडै अस्वीकार गरेका कारण ओली बढी चिढिएका छन् । 

ओलीले अन्तिम अवस्थासम्म पनि प्रचण्ड वा नेपालमध्ये कोही एकलाई आफ्नो पक्षमा पार्ने प्रयास जारी राख्नसक्नेछन् । यदि त्यस्ता प्रयास सफल भएनन् भने उनले पार्टी विभाजनका लागि रातारात अध्यादेश ल्याउने, अदालतलाई प्रभावमा राखेर संविधानमै नभएको संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र आफ्नै नेतृत्वमा चुनाव गराउनेसम्मको कदम चाल्नसक्ने प्रचण्ड–नेपाल समूहको विश्लेषण रहेको स्रोत दाबी गर्छ । 

जे होस पछिल्लो समयमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को संकट अझ पेचिलो बन्दै गएको चाहिँ पुष्टि भएको छ । घटनाक्रमहरु यसरी विकास भइरहेका छन् कि अब चमात्कारिक कुनै प्रगति भएन भने यो दलको विवाद मिल्न तत्काल संभव छैन र यसको असर पार्टीमा फूटसम्मको दुर्घटना हुनसक्ने विश्लेषकहरुले बताउन थालेका छन् ।