काठमाण्डौ । भारतीय डिजाइनमा कांग्रेससँग मिलेर सत्ताको नेतृत्व गर्न खुट्टा उचालिसकेका एमाओवादी अध्यक्ष प्रचण्डलाई पार्टीभित्रकै देशभक्तहरुले रोकेका छन् । उनीहरुको प्रयासका कारण ओली नेतृत्वको सरकारमाथि मडारिएको संकटको कालो बादल तत्कालका लागि टरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक प्रमोद दाहालका अनुसार एमाले नेता झलनाथ खनाल र बामदेव गौतम ओलीको सन्देश बोकेर बिहीबार बिहान गम्भीर छलफलका लागि भन्दै प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए । त्यहाँ माओवादी नेताहरुसँग केही घण्टा छलफल भएको थियो । सो क्रममा प्रधानमन्त्री ओलीले बजेट ल्याउन दिन, सो बेलासम्म सहकार्यकै आधारमा अगाडि बढ्न आग्रह गर्दै आफू सरकार संचालनको क्रममा भएका गल्तीहरु सच्याउन तयार रहेको स्पष्ट जनाउ दिएका खनाल र गौतमले सुनाएका थिए । आगामी बजेटमा माओवादीका नीति तथा कार्यक्रमलाई समेत बढी भन्दा बढी रुपमा समेट्ने प्रधानमन्त्रीको प्रतिबद्धता समेत खनाल र गौतमले सुनाएका थिए । सो क्रममा प्रधानमन्त्री ओली बजेट ल्याएपछि सरकारको नेतृत्व गर्न प्रचण्डलाई दिन सकारात्मक रहेको समेत खनाल र गौतमले सुनाएपछि एमाओवादी तत्काल सरकारलाई दिइएको समर्थन फिर्ता नलिने मूडमा पुगेको हो । 

यही छलफलका कारण बिहान बस्ने भनिएको मन्त्रीपरिषद बैठक समेत साँझ ६ बजेका लागि सारिएको छ । सो बैठकमा एमाओवादीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको समेत सहभागिता रहने स्रोतले बताएको छ । 

किन रोकियो माओवादी ?
उच्च स्रोतका अनुसार एमाओवादी भारतीय डिजाइन अनुसार कांग्रेस सँग मिलेर अघि बढेपछि उसलाई रोक्न प्रम ओलीले चिनियाँ कार्ड प्रयोग गरेका थिए । ओलीले चीनसँग भएको सम्झौताको कार्यान्वयनमुखी बजेट विनियोजन हुन लागेको र भारत त्यो नचाहने भएकै कारण खेल खेलिएको भन्दै चिनियाँ एजेन्सीका अधिकारीहरुलाई गुहार्न पुगेका थिए । चीनले समेत रातारात सक्रियता बढाई एमाओवादीका नेताहरुलाई कन्भिन्स गराएको थियो । प्रम ओलीको चीन भ्रमणको क्रममा पारवहन लगायतका महत्वपूर्ण सम्झौताहरु भएका थिए । ती सम्झौता कार्यान्वयनका लागि विभिन्न कार्यक्रम ओली नेतृत्वको सरकारले बजेटमार्फत ल्याउन लागेको छ । यो कुरा भारतीय पक्षलाई नपचेकै कारण दिल्लीमा नाटकीय ढंगले कांग्रेस, एमाओवादीका नेताहरुलाई बोलाएर डिजाइन रचिएको थियो । तर स्रोतका अनुसार भारतीय डिजाइन तत्कालका लागि फेल भएको छ । एमाओवादी र एमाले सँगै मिलेर अगाडि बढ्ने भएपछि चीनसँगको सम्झौता कार्यान्वयनमा सहज हुने खालको बजेट आउनेछ भने भारतप्रतिको पारवहन निर्भरता समेत हटाउने हिसाबले सरकार अगाडि बढ्नेछ । 

एमाओवादी एकाएक पछाडि हट्नुको अर्को कारण भारतीय डिजाइनमा भएको सरकार परिवर्तनको पोल बेलैमा खुल्नु पनि रहेको स्रोतको दाबी छ । माओवादी नेता कृष्णबहादुर महरा समेत दिल्लीमा पुगेर भारतीय डिजाइन अनुसार अगाडि बढेका र यसमा कांग्रेस सभापति देउवाको समेत अगुवाई रहेको विभिन्न संचारमाध्यमहरुले सार्वजनिक गरेका थिए । भारतीय डिजाइनमा सरकार परिवर्तनको खेलमा लागेको भनेर प्रचण्डको सर्वत्र आलोचना सुरु भएको थियो । उनलाई सामाजिक सञ्जालहरुमा भारतीय दलाल र पदलोलुप नेताको आरोप समेत लगाइएको थियो । देशभित्रै आलोचना खेप्नु परेपछि र कांग्रेससँग मिलेर सरकार बनाउँदा भारतीय लाइनको मान्छे भनी दुष्प्रचार हुने र यसले असल मित्र चीन समेत चिढिने बुझेका प्रचण्डकै योजनामा फेरि ओली नेतृत्वको सरकार समर्थन गर्ने निर्णय भएको माओवादी स्रोतले जनाएको छ ।