काठमाण्डौ । सत्ता साझेदार एमाओवादीको बुधबार बिहान बसेको पदाधिकारी बैठकले आफ्ना अध्यक्ष प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गर्दै त्यसमा सामेल हुन सबै दललाई सार्वजनिक आह्वान गरेको छ । 

भाषामा राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरिएको भनिए पनि यसको अन्तर्य चाहि अर्कै छ । एमाओवादीले २ वर्षसम्म ओलीलाई साथ दिने पूर्व सहमति सहजै तोड्नुको पछाडि भारतको हात रहेको छ । भारतका विभिन्न एजेन्सीहरुको प्रयासमा कांग्रेस र एमाओवादी भारतविरोधी रुपमा देखिएको ओली सरकार गिराउने र नयाँ सरकार गठन गर्ने विषयमा सहमत भएका हुन् । 

अध्यक्ष प्रचण्डद्वारा बुधबार जारी विज्ञप्तिमा लेखिएको छ, ‘राष्ट्रिय स्वाधिनता एवम् स्वाभिमानको रक्षा, शान्ति प्रक्रियाको बााकी कार्यभार, राजनीतिक समस्यालाई वार्ताद्वारा समाधानसहित संविधान क्रियान्वयन र पुनर्निर्माणको कार्यलाई केन्द्रबिन्दुमा राखेर हाम्रो पार्टीले राष्ट्रिय सहमतिमा जोड दिँदै नेकपा (एमाले) को नेतृत्वको वर्तमान सरकार गठन गर्न पहल गरी सहभागी भएको हो । हाम्रो पार्टीले उपयुक्त विषयहरुमा लगातार सरकार एवम् एमाले नेतृत्वसँग गम्भीर ध्यानाकर्षण गराएका हौं । तर वर्तमान नेतृत्व अन्तर्गत सरकारले त्यस दिशामा परिणाममुखी कार्य अगाडि बढाउन सकेको देखिएन । यस स्थितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी उपरोक्त कार्यभार पूरा गर्न प्रस्ताव सहित सहमति जनाएको स्थितिमा हाम्रो पार्टी, नेकपा एमाले तथा राप्रपा नेपाल, जनाधिकार फोरम(लोकतान्त्रिक) लगायतका सबै पार्टीलाई हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी साझा कार्यभार पूरा गर्ने प्रक्रियामा अघि बढ्न अपील गर्दछ ।’

प्रचण्डले सरकारले यो गर्न सकेन वा त्यो गर्न सकेन भने पनि वर्तमान सरकारको महत्वपूर्ण मन्त्रालय आफ्नै पार्टीको भागमा रहेको कुरा बिर्सिएका छन् । महत्वपूर्ण मन्त्रालयमा आफ्नै पार्टीका नेतालाई पठाएका उनले सत्ताबाट बाहिरिन र भारतीय इशारामा कांग्रेसले देखाएको सत्ताको ललीपप ग्रहण गर्नैका लागि आफू शक्तिशाली भएको सरकारले काम गर्न नसकेको सस्तो आरोप लगाएर सरकारबाट बाहिरिने स्पष्ट संकेत दिएका छन् । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नै सरकारको नेतृत्व लिने तुरुप प्रचण्डतर्फ फाकेपछि प्रचण्ड सरकारको नेतृत्व गर्न आतुर देखिएका हुन् । रातारात बनेको नयाँ डिजाइनले मूर्त रुप पाउँदै गर्दा प्रचण्ड नै अबको प्रधानमन्त्री हुने संभावना बलियो छ । एमाओवादीको अहिलको रणनीतिमा सामान्य परिवर्तन भए सरकार संचालनको चाबी कांग्रेस सभापति शेरबहादुर देउवाको हातमा पुग्ने अवस्था समेत छ । समग्रमा कांग्रेस र एमाओवादीलाई सत्ता स्वार्थमा भारतीय एजेन्सीको लामो प्रयासले मिलाइदिएपछि अब आफूलाई राष्ट्रवादी धारमा प्रस्तुत गरेका ओलीको दिनगन्ती सुरु भएको छ । 

काफी थियो पूर्व संकेत
कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीको उपचारको बाहानामा भारत गएकै बेला ओली नेतृत्वको सरकार गिराउने खिचडी दिल्लीमा पाकिरहेको खबर सनसनीपूर्ण भएको थियो । भलै, देउवा आफैँले सशक्त प्रतिपक्षीको रुपमा आफ्नो दल प्रस्तुत हुने र सरकार गिराउने खेलमा नलाग्ने दाबी गरेका थिए । तर कांग्रेसका उनी निकटका दोश्रो बरियताका केही नेताहरुले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने भन्दै देउवाको भावना समेत व्यक्त गरिरहेका थिए । दिल्लीबाट आएलगत्तै सरकार गिराउने कुरा गर्दा भारतीय गोटी बनेको आरोप लाग्ला भन्ने डरले देउवा आफैँले त्यो कुरा नबोले पनि समयक्रमले भारतीय डिजाइनको पोल खोलिदिएको छ । 

केही दिनदेखि एमाओवादीका नेताहरुले समेत वर्तमान सरकारको विकल्प खोज्ने कुरा बताउन थालेका थिए । मंगलबार एमाओवादीका सचिव बर्षमान पुनले राजधानीमा आयोजित एक कार्यक्रममा स्पष्ट रुपमा आफूहरु केपी ओलीलाई धेरै दिन काँधमा बोकेर हिँड्न नसक्ने बताएर एमाओवादी रणनीतिको अन्तर्य खोलिदिएका थिए । उनले आफ्नो दलले सरकारबाट बाहिरिने सूचना प्रधानमन्त्री ओलीलाई दिइसकेको समेत दाबी गरेका थिए । यो संकेत नै काफी थियो कि, एमाओवादीले सरकार छाड्ने र नयाँ सरकारका लागि प्रयासहरु सुरु भएका बुझ्ने । 

अर्कोतर्फ कांग्रेस संसदीय दलको सोमबार र मंगलबार चलेको संसदीय दलको बैठकका अधिकांश सहभागीहरुले समेत वर्तमान सरकारको विकल्प खोज्नुपर्नेमा जोड दिएका थिए । देउवा निकटका प्रभावशाली नेता प्रकाशशरण महतले वर्तमान सरकारको विकल्प खोज्न अत्यावश्यक भएको दाबी गर्दै एमाओवादीको निर्णयमा सरकार परिवर्तन भर पर्ने मंगलबार नै बताएका थिए । यसको अर्थ स्पष्ट थियो कि एमाओवादीले सरकार छाड्ने निर्णय गरे उसलाई कांग्रेसको साथ रहन्छ । 

त्यसो त देउवा दिल्लीबाट फर्किए लगत्तै एमाओवादीसँग धेरै चरणमा गम्भीर छलफलहरु भएका थिए । सो क्रममा कांग्रेसले ओली सरकार गिराउने शर्तमा प्रचण्डको नेतृत्व समेत स्वीकार गर्ने स्पष्ट संकेत दिएको थियो । कांग्रेसले नै यस्तो संकेत दिएपछि फेरि एकपटक सत्ताको नेतृत्व गर्ने रणनीतिसहित एमाओवादीले सरकारबाट बाहिरिने र राष्ट्रिय सहमतिको सरकारको नाममा नयाँ सरकार गठन गर्ने खेल सुरु गरेको स्रोतले उल्लेख गरेको छ ।

बजेट रोक्ने भारतीय दाउ
भारतीय संस्थापन पक्ष र एजेन्सीका अधिकारीहरु केपी ओली नेतृत्वको सरकारलाई बजेट प्रस्तुत गर्नै नदिने पक्षमा रहेका थिए । ओलीले चीन भ्रमणको क्रममा गरेका पारवहन लगायतका महत्वपूर्ण सम्झौताहरुका कारण भारत चिढिएको छ । ओलीलाई  बजेट प्रस्तुत गर्न दिए ती सम्झौताहरु कार्यान्वयन सहज हुने किसिमको बजेट तथा कार्यक्रम आउने भारतीय पक्षको बुझाई छ । यही बुझाईका कारण भारतले ओलीको चीन भ्रमणदेखि नै यो सरकार गिराउने खेल सुरु गरेको थियो । सो क्रममा भारतले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाओवादी अध्यक्ष प्रचण्ड, अर्का  नेता कृष्णबहादुर महरा, कांग्रेस नेता खूमबहादुर खड्कादेखि पूर्व राजा ज्ञानेन्द्रसम्मलाई प्रयोग गरेको थियो । भारतले स्पष्ट रुपमा मंगलबारबाट नेपालमा सुरु भएको संसद अधिवेशनमा बजेट प्रस्तुत हुनै नदिने र त्यसअघि नै नयाँ सरकार गठन गर्ने रणनीति लिएको स्रोतको भनाई छ । यही रणनीतिमा प्रचण्ड र देउवा प्रयोग हँुदा ‘पपुलिष्ट बजेट’को तयारीमा रहेको सरकार गिर्ने निश्चित देखिएको हो ।

भारत चीनसँग ओली सरकारले गरेको सम्झौता कार्यान्वयन नहोस् भन्ने चाहन्छ । ओलीले चीनसँग पारवहन सम्झौता गरेर भारतसँग बर्षौदेखि रहँदै आएको नेपालको परनिर्भरता हटाउने प्रयास गरेका थिए । चीनतर्फ ढल्किएको देखेर भारत चिढिएको थियो । भारत जस्तोसुकै रणनीति अपनाएर भए पनि चीनसँग नेपालको हिमचिम बढेको हेर्न चाहदैन । ओली भ्रमणको क्रममा भएका अन्य सम्झौताहरुका कारण समेत भारतलाई झट्का लागेको थियो । चीन भ्रमणबाट फर्किएलगत्तै ओलीले ‘नेपाल भूपरिवेष्ठित देश रहेको, भारत वेष्ठित देश नरहेको’ जस्ता कडा प्रतिक्रियाहरु सार्वजनिक गरेका थिए । एमालेका दोश्रो वरियताका नेताहरुले समेत भारतको विस्तारवादी सोंचको विरुद्धमा बिष बमन गरेका थिए । चीनमा महत्वपूर्ण सम्झौता गर्नु र स्वदेश फर्किएलगत्तै आफूविरुद्ध बिष बमन गर्नुलाई भारतले सहन सकेन र ओलीलाई देखाइदिने रणनीतिका साथ गोटी चाल्यो । यसैको फलस्वरुप सरकार गिर्ने स्पष्ट संकेत देखिएको हो । 

यसरी भयो डिजाइन
पत्नी आरजू देउवाको उपचारका लागि भनी कांग्रेस सभापति शेरबहादुर देउवा दिल्ली गएका थिए । तर उनको भित्री उद्देश्य त्यहाँ सरकार गिराउने खिचडी पकाउने दलबलमा सहभागी हुनु थियो । देउवा भन्दा अगाडि नै पुगेका खूमबहादुर खड्काले एकखालको माहौल सिर्जना गरिसकेका थिए । भारतीय डिजाइन अनुसार नै त्यहाँ बाक्लो संख्यामा गोप्य बैठकहरु भएका थिए । देउवा गएकै बेलामा अख्तियारले आफूलाई डाम्न लागेको सूचना पाएपछि अत्तालिँदै गुहार माग्नलाई एमाओवादीका प्रभावशाली नेता कृष्णबहादुर महरा पनि दिल्ली पुगेका थिए । सुटुक्क दिल्ली पुगेका उनले आफ्नो मात्र होइन, प्रचण्डको सन्देश पनि लिएर गएका थिए । पछिल्लो कालमा आफूप्रति चिढिएको भारतलाई कन्भिन्स गराउने सुनौलो मौकाको रुपमा यही अवस्थालाई प्रचण्डले उपयोग गर्ने रणनीति लिए । यही कारण आफूलाई भारतले पटक–पटक बोलाउँदा समेत नगएका प्रचण्डले आफ्ना दूतको रुपमा महरालाई पठाएका थिए । दिल्लीमा महरा, देउवा, खड्काको सहभागितामा छलफलहरु गराइएको थियो । सो क्रममा एमाओवादीलाई सरकारको  नेतृत्व दिने हो भने वर्तमान सरकार गिराउन आफूहरु तयार रहेको प्रचण्डको सन्देश महराले सुनाएका थिए । ओली सरकारको जस्तोसुकै विकल्पका लागि तयारी अवस्थामा रहेको भारतले एकपटकका लागि भनी देउवालाई कन्भिन्स गराएको थियो । देउवा समेत भारतीय रणनीति अनुसार चल्न तयार भई स्वदेश फर्किएका थिए । 

यसरी भारतले नाटकीय रुपमा कांग्रेस, एमाओवादीका नेताहरुलाई दिल्ली बोलाएर जे खिचडी पकाएको थियो, त्यसैको कार्यान्वयन हुँदै गर्दा ओली सरकार केही दिनमै गिर्ने स्रोतहरुले दाबी गरेका छन् । 

अब के होला ?
भारतीय रणनीतिअनुसार नै सरकार गिराउने खेल सुरु भएसँगै ओली सरकारको आयु लगभग सकिएको छ । ओली सरकारले आफ्नो नेतृत्वमा बजेट तथा कार्यक्रम समेत प्रस्तुत गर्न पाउने वा दिइने छैन । संसदको अधिवेशनमै वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश हुनेछ र राष्ट्रिय सहमतिको सरकार गठनको देखावटी प्रक्रिया सुरु हुनेछ । आफ्नो नेतृत्वलाई गिराउने खेलमा लागेका प्रचण्डलाई एमालेले कुनै पनि हालतमा सघाउने छैन । त्यसपछि बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुनेछ । अनि कांग्रेस, एमाओवादी लगायत केही साना दललाई सहभागी गराएर नयाँ सरकार गठन हुनेछ । एमाले चाहि अहिलेको कांग्रेसको अवस्था, अर्थात प्रतिपक्षीमा बस्नेछ । 

खेल यतिमा मात्र सकिँदैन । भारतीय योजना ओली सरकार गिराएर नयाँ सरकार गठन गर्ने मात्र छैन । कांग्रेस र एमाओवादीको काँधमा बन्दूक राखेर हिन्दू राष्ट्र कायम गराउने स्वार्थ समेत छ । हिन्दू राष्ट्र कायम गराउने र त्यसैको आडमा ‘बेबी किङ’मा जाने भित्री रणनीति रहेको स्रोतहरुको दाबी छ । यही योजनाअनुसार नै महरा र देउवा भारत भ्रमणबाट फर्किएलगत्तै पूर्व राजा ज्ञानेन्द्रलाई आकस्मिक रुपमा भारतबाट बोलावट भएको थियो । बेबी किङको अवधारणा अनुसार शासन व्यवस्था परिवर्तन गर्ने लोभ देखाएर पूर्वराजा ज्ञानेन्द्रलाई भारतीय पक्षले अब बन्ने सरकारलाई समर्थनका लागि राप्रपा नेपाललाई दवाब दिन अह्राएको बुझिएको छ । अन्य राजावादी दलहरुलाई समेत पूर्वराजाले वर्तमान सरकारमा सहभागी हुन आग्रह गर्नेछन् । यसरी वर्तमान सरकार गिराउने खेलबाट सुरु भएको भारतीय रणनीति हिन्दूराष्ट हुँदै बेबी किङसम्म पुगेर सफल हुने योजना बुनिएको छ । 

एमाले के गर्दैछ ?
एमालेलाई यी सबै खेलहरुको सूचना पहिलादेखि नै रहेको एक नेताले बताएका छन् । ती नेताका अनुसार यही सूइँको पाएका प्रधानमन्त्री ओलीले केही दिनअघि होटल द्वारिकाजमा नेपालका लागि भारतीय राजदूत रञ्जित रोयलाई डिनर बैठकमा बोलाई लामो छलफल गरेका थिए । सो क्रममा ओलीले आफ्नो सरकार जोगाइदिन अनुनय गरेका थिए । तर बैठकमा रोय नै कडा रुपमा प्रस्तुत भएका र भारतविरोधी गतिविधिले ओलीकै पालामा प्रश्रय पाएको भन्दै आक्रोशित बनेका थिए । भारतीय दूत नै आक्रोशित भएपछि ओलीले अब आफ्नो नेतृत्वको सरकार धेरै दिन नटिक्ने संकेत पाइसकेका थिए । त्यसो त एमालेका महासचिव ईश्वर पोखरेलले यही संकेत पाएकै कारण मंगलबार एक अनलाइनलाई अन्तर्वार्ता दिने क्रममा वर्तमान सरकारविरुद्ध खेलहरु सुरु भइसकेका बताएका थिए । 

एक एमाले नेताका अनुसार सकेसम्म सरकार जोगाउन एमालेले पनि मोर्चाबन्दी गर्नेछ । नसके, प्रभावकारी भूमिकासहित प्रतिपक्षमा बस्नेछ र बजेट तथा कार्यक्रममा भारतीय इन्ट्रेस्टलाई घूस्नै नदिने रणनीतिका साथ अगाडि बढ्नेछ । 

अरु त अरु सत्तामा पुगेपछि एकलौटी नियुक्ति र मनपरी गरेको आरोप ओलीमाथि पार्टीकै माधव नेपाल पक्षले लगाउँदै आएको थियो । ओलीले पनि नेपाल पक्षलाई सबैतिर छिर्के लगाउँदै आफ्ना मान्छेहरुलाई मात्र लाभको पदमा भर्ति गरेका थिए । नेपाल पक्ष समेत ओली सरकार गिराउने दाउमै थियो । यसैको संकेत दिंदै मंगलबार सुनसरीको इनरुवा पुगेका एमाले वरिष्ठ नेता माधव नेपालले राष्ट्रिय सहमतिको सरकारको पक्षमा कडा मन्तव्य दिएका थिए । एमालेकै नेपाल पक्ष समेत वर्तमान सरकार गिराउने रणनीतिमा रहेको बुझेको भारतले यही समयलाई आफू अनुकुल बनाउने रणनीति अख्तियार गरेको देखिन्छ ।