काठमाण्डौ । सरकारले तोके भन्दा २५ देखि १ सय प्रतिशतसम्म मनपरी मूल्य वृद्धि गरी समस्यामा परेका सर्वसाधारणलाई ठगी गरेको र राज्यको कानूनलाई चुनौति दिई चरम कालोबजारी गरेको आरोपमा प्रहरीले शुक्रबार नेपालकै दुई चर्चित औषधि उद्योगका संचालकसहित चारजनालाई पक्राउ गरेको छ । 
 

महानगरीय प्रहरी परिसर काठमाण्डौबाट खटिएको विशेष प्रहरी टोलीले गैरीधारा नजिकै रहेको लोमस फर्मास्ट्यूकल्स र काठमाण्डौको हात्तीसारमा रहेको देउराली जनता फर्मास्ट्यूकल नामको औषधि उद्योगमा छापा मारी उद्योगका संचालक तथा कामदारहरुलाई नियन्त्रणमा लिएको हो । 
 

महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी विक्रमसिंह थापाका अनुसार लोमसका संचालक प्रज्वलजंग र प्रवलजंग पाण्डेलाई पक्राउ गरिएको छ । दुवै दाजुभाई हुन् । उनीहरु नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेका छोरा हुन् । 
 

यसैगरी, देउराली जनता फर्मास्ट्यूकल नामको औषधि उद्योगका भाइस प्रेसिडेन्ट निगराज अधिकारी र महाप्रबन्धक निलराज आचार्यलाई समेत प्रहरीले पक्राउ गरेको छ । सो औषधि उद्योगमा समेत प्रहरीले छापा मारेर महत्वपूर्ण कागजात तथा औषधि जफत गरेको छ । देउरालीका मुख्य संचालक हरिभक्त शर्मा चाहि फरार छन् । 
 

एसएसपी थापाले बिजशालासँग् कुरा गर्दै बिरामीका आफन्त तथा सर्वसाधारणबाट दुई उद्योगबाट उत्पादित औषधिको मूल्यमा राज्यको दररेट भन्दा अधिक वृद्धि गरिएको गुनासो आएपछि प्रहरीले प्रारम्भिक रुपमा छानबिन गर्दा औषधिको मूल्यमा २५ देखि १ सय प्रतिशतसम्म वृद्धि गरिएको पुष्टि भएकोले छापा मारी संचालक तथा कर्मचारीलाई पक्राउ गरिएको स्पष्ट पारे । ‘हरेक व्यक्तिको जीवनमरणसँग जोडिएको औषधिजस्तो संवेदनशील वस्तुमा समेत राज्यलाई चुनौति दिई कालोबजारी गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।’ एसएसपी थापाले भने–‘उनीहरुले कालोबजारी गरेको पुष्टि भइसकेको छ, आइतबार म्याद थपेर कालोबजारी ऐन अन्तर्गत पक्राउ परेका सबैविरुद्ध कडा कारबाही हुन्छ ।’ 
 

थापाले राजधानीका अन्य औषधि उद्योगको बिषयमा समेत गुनासो आएको र तिनीहरुको धन्दाको  बिषयमा छानबिन भइरहेको उल्लेख गर्दै दोषी देखिइने जोकसैलाई समेत नछाडिने स्पष्ट पारे । उनले सर्वसाधारणलाई कुनै औषधि उद्योगले फट्याईं गरेको भए र मनपरी मूल्य बढाएको भए प्रहरीमा उजुरी गर्न समेत अपील गरे ।