एजेन्सी । लगातार घटेर तेल उत्पादक देशहरुकै अर्थतन्त्र डामाडोल बनिरहेको बेला ती देशहरुले उत्पादनमा कटौति गर्ने निर्णयका लागि चाजोपाजो मिलाउन थाले लगत्तै त्यसको प्रभावले कच्चा तेलको मूल्य बढ्न थालेको छ । पछिल्लो पाँच महिनाको अवधिमा शुक्रबार कच्चा तेलको मूल्य सबैभन्दा बढी रेकर्ड भएको छ । यो दिन कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब ४३ डलर पुगेको हो । 
 

आइतबार कतारको दोहामा आयोजना हुने तेल उत्पादक राष्ट्रहरुको भेलाले उत्पादनलाई कटौति गर्ने रणनीति बनाएको खबर सार्वजनिक भएलगत्तै यसको असर कच्चा तेलको भाउमा परेको हो । 
 

प्रति ब्यारेल कच्चा तेलको भाउ ४२ डलर भन्दा माथि पुगेको पाँच महिनाको अवधिमा यो नै पहिलो घटना हो । यसले तेल उत्पादक देशहरुलाई उत्साहित बनाएको छ । केही समयअघि लगातार ओरालो लागेको तेलको मूल्य प्रति ब्यारेल २० देखि २५ डलरसम्म झर्ने केही विज्ञहरुले प्रक्षेपण गरे पनि तेल उत्पादक देशहरुले बनाएको मजबुत रणनीतिले ती प्रक्षेपणहरु गलत साबित भई तेलको मूल्य माथि उक्लिन थालेको हो । 
 

तर आइतबारको बैठकले समेत एउटै मुद्धामा सामूहिक निर्णय गर्ला भनेर पत्याउन सकिने आधार नरहेका अन्तराष्टिय संचारमाध्यमहरुले दाबी गरेका छन् । तेल उत्पादन कटौतीको विषयमा सबै ओपेकका सबै सदस्य राष्ट सहमतिमै पुग्लान् भन्ने समेत कुनै ग्यारेण्टी छैन । इरानले यस्ता सम्झौतालाई नकार्दै विगतमा स्विकृत भएका क्षेत्रहरु, जहाँ  दैनिक ४० लाख  ब्यारेल तेल वितरण पुग्थ्यो, त्यो तहमा नपुगेसम्म उत्पादन बढाउने अडान लिइसकेको छ । यस्ता अभिव्यक्ति अन्य सदस्य देशले समेत दिइरहँदा बढिरहेको तेलको भाउ अझ माथि जाने हो वा फेरि घट्न सुरु हुने हो भन्ने दिविधा बाँकी नै छ । 
 

गेन्सर पिएलसिका आयल प्रमुख एलेक्स बियर्डले स्विजरल्याण्डको एउटा सम्मेलनमा बोल्दै आउँदो महिनामा बस्ने बैठकले बजारमा कुनै प्रभाव नपर्ने बताएका थिए । ‘यदि फ्रिजको विषयमा कुनै प्रकारको राजनीतिक सहमति भएपनि यसले वर्तमान तेल बजारमा कुनै प्रभाव पार्दैन’,उनले भने,‘मलाई लाग्छ केही सहमति हुदैन र मैले कुनै ठुलो सकारात्मक झट्काको अपेक्षा गरेको छैन । बजारका अन्य सहभागी भने धेरै सकारात्मक देखिएका थिए। अमेरिकी तेल उत्पादक नेचुरल रिसोर्स एण्ड को का प्रमुख कार्यकारी स्कट सेफिल्डले भने, ‘यसको एउटा सबल पक्ष यो छ कि कम्तीमा तिनीहरु वार्तामा आएका छन्।’
 

अमेरिकाको तेल वितरण घट्ने अपेक्षाले पनि तेलको मूल्य बढेको कतिपयको दाबी छ । युएस इनर्जी इनफर्मेसन एडमिनिस्ट्रेसनले हालै सार्वजनिक गरेको विज्ञप्तिका अनुसार फेब्रुअरीदेखि मार्चमा अमेरिकाको तेल उत्पादन दैनिक ९० हजार ब्यारेलले ओरालो लागेको छ । उसले २०१६ र २०१७ मा अमेरिकाको उत्पादन घट्ने अनुमान गरेको छ। तेलको मूल्य मजबुत नरहेसम्म अर्थात ४५देखि ५० डलरको हाराहारीमा मूल्य नपाएसम्म अमेरिकाको उत्पादनमा गिरावट आउन छाड्दैन ।