एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दुई महिनाकै सबैभन्दा उच्च विन्दूमा पुगेको छ । कच्चा तेलको मूल्यमा उछाल आएर प्रति ब्यारेल ४० डलरको भाउ कायम भएको हो । विश्लेषकहरुले यो क्रम जारी रहे अबको दुई महिनामा कच्चा तेलको मूल्य प्रति ब्यारेल ५० डलरसम्म पुग्नसक्ने दाबी गर्न थालेका छन् । 

विश्लेषकहरुका अनुसार अमेरिकामा उत्पादन घटेको र २० मार्चदेखि कच्चा तेल उत्पादक देशहरुको साझा संगठन ओपेकले उत्पादनमा भारि कटौति गर्ने संभावनाका कारण कच्चा तेलको मूल्यमा उछाल आएको हो । 

अन्तर्राष्ट्रिय संचारमाध्यमकाअनुसार फेब्रुअरीमा तेलको मूल्यमा आएको भारी गिरावटको तुलनामा अहिले कच्चा तेलको मूल्यमा ५० प्रतिशत भन्दा बढीले उछाल आएको छ । सन् २०१६ को फेब्रुअरी ११ मा कच्चा तेलको मूल्य सबैभन्दा कम प्रतिब्यारेल २६.२१ डलरमा झरेको थियो । यो मूल्य चमात्कारिक ढंगले बढेर केही सातामै ४० डलर पुगेको हो । 

केही विश्लेषकहरुले विश्व अर्थतन्त्रमा तत्काल कुनै पनि संकट देखा पर्न छाडेको र यसले समेत कच्चा तेलको मूल्यमा अपेक्षित सुधार आएको दाबी गरेका छन् । आगामी मे महिनाभित्रमै तेलको मूल्य प्रति ब्यारेल ५० डलरसम्म पुग्नसक्ने आँकलन पनि अर्का थरि विश्लेषकको छ । 

तर यूबिएस वेल्थ मेनेजमेन्ट नामक कम्पनीले चाहि आगामी केही महिनाभित्रमा कच्चा तेलको मूल्य ५५ डलरको उचाइँमा पुगे पनि त्यो भन्दा अघि केही समयका लागि यो मूल्यमा अझ गिरावट आई प्रति ब्यारेल २५ डलरसम्म झर्नसक्ने दाबी गरेको छ । यो कम्पनीले सन् २०१६ को सुरुवातसँगै बजारमा सन्तुलन देखा परेको र यसले कच्चा तेलको मूल्यमा चमात्कारिक सुधार हुने प्रक्षेपण पनि गरेको छ । उसले बजार सन्तुलन अझ व्यवस्थित भएर सन् २०१६ को अन्तसम्म चाहि कच्चा तेलको मूल्य प्रति ब्यारेल ५५ डलरसम्म पुग्नसक्ने दाबी गरेको छ । रिपोर्ट अनुसार जारी वर्षको ६ महिनापछि तेलको मूल्यमा अझ धेरै र तीव्र सुधार हुनेछ । रिपोर्टका अनुसार साउदी अरब, नाइजेरिया र अफ्रिका जस्ता केही देशहरुले आफ्नो बजेटलाई सन्तुलनमा राख्नका लागि समेत निर्यातित तेलको मूल्य जरबजस्त बढाउनुपर्ने अवस्था  रहेको र यो कारणले समेत भाउ बढ्नेछ । 
 

यसकारण बढ्नसक्छ भाउ
१.विश्वमै कच्चा तेलको सबैभन्दा बढी खपत हुने देश अमेरिकामा कच्चा तेलको उत्पादन घटेसँगै समग्र अन्य देशहरुको उत्पादनमा राहात महसुुस भयो र तेलको मूल्यमा एक्कासी सुधार देखियो । अमेरिकी इनर्जी डिपार्टमेन्टका अनुसार अमेरिकामा कच्चा तेलको उत्पादन दैनिक ९०.८ लाख ब्यारेलको आँकडामा आइपुगेको छ, जुन नोभेम्बर २०१४ पछि यो सबैभन्दा कम उत्पादनको आँकडा हो । यसको अर्थ अमेरिकाले समेत आफ्नो प्रयोगका लागि अन्य देशबाट तेल खरीद गर्नुपर्नेछ, यसले माग बढी मूल्य समेत बढ्नेछ ।  

२.इनर्जी विज्ञका अनुसार अमेरिका तेल खपत गर्ने दुनियाँकै सबैभन्दा ठूलो देश हो । यहाँको अर्थतन्त्र सवल भएसँगै यहाँ तेलको माग ह्वात्तै बढ्ने र यसले समेत समग्र तेलको मूल्यमा उछाल आउने अनुमान छ ।

३.एसएआई नामको इनर्जी कम्पनीको रिपोर्ट अनुसार केही समयमा चिनले समेत कच्चा तेलको आयात बढाउनसक्ने संभावना छ । विश्लेषकले चीनको तेल आयात बढेर ८ लाख ब्यारेल प्रतिदिनसम्म पुग्नसक्छ, जब कि चीनले २०१५ मे महिनामा ६ लाख ७० हजार ब्यारेल मात्र आयात गथ्र्यो । चीनमा तेलको खपत बढ्नुमा त्यहाँ उत्पादित कारहरुको बिक्री ह्वात्तै बढ्नु पनि हो । यसकारण समेत कच्चा तेलको भाउ बढ्नसक्छ । 

४. अन्तर्राष्ट्रिय संचारमाध्यमले विश्लेषकहरुलाई उद्धृत गर्दै लेखेअनुसार आउने २० मार्चमा कच्चा तेल उत्पादन गर्ने देशहरुको साझा संगठन ओपेकको बैठक हुने प्रवल संभावना छ । यो बैठकले उत्पादन कटौतिको बिषयमा महत्वपूर्ण निर्णय लिने आशा गरिएको छ । यसअघि फेब्रुअरीमा भएको ओपेक बैठकमा चाहि कुनै पनि बिषयमा सदस्य राष्ट्रबीच सहमति हुन सकेको थिएन । मार्च महिनामा हुनसक्ने भनिएको निर्णयका कारण समेत कच्चा तेलको मूल्यमा अपत्यारिलो उछाल आएको हो ।