काठमाण्डौ । अमेरिकाको तेल भण्डारण क्षमता बढेका कारण अन्तराष्टिय बजारमा कच्चा तेलको मूल्य १२ बर्ष यताकै न्यून विन्दूमा पुगेको छ ।    

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार कच्चा तेलको मूल्य प्रति ब्यारेल ३० डलर भन्दा तल झरेको हो ।    

अप्रिल, २००४ पछि कच्चा तेलको मूल्य पहिलोपटक यति न्यून बिन्दूमा पुगेको हो । अमेरिकाको तेल भण्डारण क्षमता बढेसँगै चीनको अर्थतन्त्रमा भइरहेको वृद्धि केही मन्द हुनु तेलको मूल्य खस्किनुको अर्को कारण मानिएको बीबीसीले जनाएको छ ।   सन् २०१४ यता तेलको मूल्यमाथि चर्को दबाब पर्दै आएको छ । साथै अमेरिकामा हालैका वर्षमा तेलको उत्पादन पनि बढिरहेको छ । यसअघि तेलको मूल्य ओरालो लाग्दा तेल निर्यातकर्ता राष्ट्रहरुको संगठन(ओपेक)ले तेलको उत्पादनमा कटौती गर्ने गर्दथ्यो । तर यसपालि ओपेकले तेलको उत्पादन घटाएको छैन। न्यूयोर्कका बीबीसी संवाददातालाई उद्धृत गर्दै संचारमाध्यले भनेका छन्–‘बढ्दो तेल भण्डारणका कारण तेलको मूल्य झर्ने क्रम सन् २०१६ मा जारी रहने देखिन्छ।’  

त्यसमाथि इरान पनि तेल बजारमा प्रवेश गर्दैछ।’केही साताअघि अन्तराष्टिय बजारका विश्लेषकहरुले कच्चा तेलको मूल्य प्रति ब्यारेल २० डलरसम्म आउनसक्ने प्रक्षेपण गरेका थिए । अहिलेको गिरावटलाई हेर्दा कच्चा तेलको मूल्य प्रक्षेपित बिन्दूमै पुग्नसक्ने खतरा देखिएको छ ।  उत्पादनमा कटौती गर्ने लक्षण छैन। त्यसको असर बजारमा पर्ने निश्चित छ । तेलको मूल्य झरेको असर अमेरिकी सट्टा बजारमा समेत देखिएको छ, जहाँ शेयरको मूल्य ओरालो लागेको छ । अमेरिकामा लगानीकर्ताहरुले थप सुरक्षित क्षेत्रमा लगानी गर्न थालेका छन् । अर्थविदहरुका अनुसार तेलको मूल्य झर्नु तेल किनेर फाइदा लिइरहेका अर्थतन्त्रहरुका लागि राम्रो संकेत हो ।  

बीबीसीले लेखेको छ–‘तेलको मूल्य झरेसंगै बजारभाउ पनि सस्तो हुनेछ।’तेलको मूल्य झर्दा तेल किन्ने देशहरुका उपभोक्ताहरुलाई पनि फाइदा पुग्ने विश्वास गरिएको छ ।  विश्लेषकहरुले कच्चा तेलको मागमा आउँदा दिन अझै कमी आउने र यसले मूल्यमा सोझै असर पार्ने बताएका छन् ।  कच्चा तेल निर्यात गर्ने देशहरुको संगठन ओपेकको मार्चको पहिलो साता आपतकालीन बैठक हुनसक्छ । ओपेक अध्यक्षले समेत कच्चा तेलको मूल्यमा आएको तीव्रतर गिरावटका कारण मार्चमा आफूहरुको आपतकालीन बैठक बस्नसक्ने संकेत गरेका छन् ।  अन्तराष्टिय बैंक स्ट्याण्डर्ड चाटर्डले कच्चा तेलमा आएको तीव्र मन्दी नियन्त्रण बाहिर छ, अवस्था यस्तै रहिरहे मूल्य प्रति ब्यारेल १० डलरसम्म झर्नसक्ने खतरा देखिएको छ । केही विश्लेषकहरुले चाहि डलरको मूल्यमा अहिलेको जसरी बढोत्तरी भइरहे कच्चा तेलको मूल्य प्रति ब्यारेल २० डलरमा आउने दिन धेरै टाढा नहुनसक्छ ।    

बार्कलेज बैंकले पनि सन् २०१६ मा कच्चा तेलको मूल्यमा भारी गिरावट आउनसक्ने प्रक्षेपण गरेको छ । उसले यो बर्ष प्रति ब्यारेल अधिकतम मूल्य ३७ डलर मात्र हुनेछ । न्यूनतम चाहि २० डलरसम्म झर्नेछ । विश्लेषकका अनुसार मूल्य घटेकै कारण तेल उत्पादक देशहरुले निर्यातलाई घटाएका छैनन्, उनीहरु घाटा खाएरै भए पनि निर्यातलाई घटाउन चाहदैनन्, यसको असर आगामी दिनमा सोझै रुपमा तेलको मूल्यमा देखिइने बताइएको छ । कारण, माग भन्दा बढी आपूर्ति भएपछि त्यहाँ मूल्य घट्नु स्वभाविक देखिनेछ ।