काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अचाक्ली वृद्धि भएको छ । विदेशी न्यूज एजेन्सीहरुका अनुसार बिहीबार ब्रेन्ट क्रूडको मूल्य प्रतिब्यारेल ८० डलर माथि पुगेको छ । सन् २०१४ नोभेम्बरपछि कच्चा तेलको मूल्य यति औधी बढेको यो नै पहिलो घटना हो ।

कच्चा तेल उत्पादक देशहरुको संगठन ओपेक तथा रुसको तर्फबाट समेत उत्पादनमा कटौतिका कारण मूल्य ८० डलर माथि पुगेको बताइएको छ । 

गत एक वर्षको अवधिमा कच्चा तेलको मूल्यमा ६० प्रतिशतको बढोत्तरी भइसकेको छ । सन् २०१८ को हालसम्म मात्रै कच्चा तेलको मूल्य २० प्रतिशतले बढिसकेको बताइएको छ।

सन् २०१७ को जुन महिनापछिको कुरा गर्ने हो भने कच्चा तेलको मूल्य ७९ प्रतिशत महङ्गो भइसकेको छ । २०१७ जुनमा कच्चा तेलको मूल्य ४४.८२ डलर प्रतिब्यारेल रहेको थियो भने बिहीबार कच्चा तेलको मूल्य ८०.१८ डलर कायम भएको छ ।

एकवर्षअघि कच्चा तेलको मूल्य ५२.२१ डलर प्रतिब्यारेल थियो भने २०१८ को सुरुवातमा ६६.५७ डलर रहेको थियो । 

ओपेक देश तथा रुसले उत्पादनमा कटौति गर्दा तेलको भाउ बढिरहेको छ । अर्कोतर्फ अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएका कारणले समेत मूल्य बढाउन सहयोग गरिरहेको छ ।

नेपालमा महङ्गीको मार
कच्चा तेलको मूल्यमा तीव्र वृद्धिसँगै भारतको आयात बजेट समेत बढ्नेछ । नेपालले आफ्ना लागि आवश्यक पेट्रोलियम पदार्थ भारतबाट आयात गर्दछ । यसरी भारतको कच्चा तेलको आयात बजेट नै उच्च हुने भएपछि उसले नेपाललाई प्रत्येक १५ दिनमा पठाउने मूल्यसूचि समेत बढेर आउनेछ । नेपाल आयल निगमले बुधबार मात्र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । विगत केही महिनादेखि नेपालमा पेट्रोलियम पदार्थको मूल्य लगातार वृद्धि भइरहनुको कारण समेत कच्चा तेलको लगातारको मूल्यवृद्धि हो । 

कच्चा तेलको मूल्य बढेर ८० डलर माथि पुगेको छ र यो मूल्य अझै बढ्ने संभावना छ । यसको अर्थ अबको १५ दिनपछि इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्य सूचि पनि बढेर आउनेछ । यसको सोझो अर्थ हो, फेरि नेपालको घरेलु बजारमा समेत पेट्रोलियम पदार्थको मूल्य बढ्नेछ । पेट्रोलका मूल्य बढ्दा यसले महङ्गी निम्त्याउनेछ । 

कच्चा तेलको मूल्य तत्काल ओर्लने संभावना छैन, यसको अर्थ नेपालमा समेत पेट्रोलियम पदार्थको मूल्य नबढ्ने कुनै गुञ्जायस नै छैन । यसरी पेट्रोलियम पदार्थकै कारण देशबासीले महङ्गीको अझ ठूलो मार निकट भविष्यमै खेप्नुपर्ने निश्चित देखिन्छ ।