काठमाण्डौ । तेल निर्यात गर्ने देशहरुको संगठन ओपेकले नियमित उत्पादनमा भारि कटौति गर्ने निर्णय लगत्तै कच्चा तेलको मूल्यमा १३ प्रतिशतसम्मको वृद्धि भइसकेको छ । कच्चा तेलको मूल्यमा देखिएको यो उछाल आगामी दिनमा समेत जारी रहने विश्लेषकहरुले बताउन थालेका छन् । 

उनीहरुको प्रक्षेपणअनुसार आगामी जनवरीसम्ममा कच्चा तेलको मूल्य प्रति ब्यारेल ५८ देखि ६० डलरसम्म पुुग्नेछ । यस्तो अवस्थामा तेलको मार्केटिङ गर्ने कम्पनीको लागत बढ्नेछ र आउने दिनमा यस्ता कम्पनीको सेयरमा समेत हलचल पैदा हुनसक्ने देखिएको छ । कच्चा तेलको मूल्यमा देखिएको उछालको असर नेपालजस्तो देशको अर्थव्यवस्थालाई समेत पर्नेछ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा वस्तुहरुको ढुवानी खर्च समेत बढ्ने भएकोले यसले नेपालजस्तो देशमा महंगी अझ चर्काउन ठूलो सहयोग गर्नेछ ।  

कच्चा तेलको मूल्यमा देखिएको उछालले भारतले आयात गर्ने तेलको मूल्य समेत बढ्ने र नेपालले आफूलाई आवश्यक पेट्रोल तथा डिजेल भारतबाट आयात गर्ने भएकोले यहाँ पनि स्वभाविक रुपमा मूल्य नयाँ उचाईमा पुुग्नेछ । 

जाडोयाममा पेट्रोलियम पदार्थको खपत बढी हुने भएकोले यसले समेत आन्तरिक बजारमा मूल्य बढाउन थप मद्धत गर्नेछ । 

यसकारण बढ्नसक्छ कच्चा तेलको मूल्य
अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानमा उर्जामा दिइएको सब्सिडी हटाउने घोषणा गरेका थिए । यदि उर्जामा दिइँदै आएको सहुलियत हटाइयो भने नवीकरणीय उर्जाको क्षेत्रमा काम गर्ने कम्पनीको लागत बढ्न थाल्छ । यसको प्रत्यक्ष फाइदा तेल कम्पनीहरुलाई हुन्छ । ट्रम्पले आफ्नो चुनावी अभियानमा अमेरिकामा रोजगारी बढाउने कुरा समेत समेटेका थिए । खासगरी नवीकरणीय उर्जाको क्षेत्रमा रोजगारी सिर्जना गर्ने बिषयमा विशेष जोड दिइएको छ । चुनावी अभियानको दौरान ट्रम्पले तेल र ग्यास सेक्टरलाई इन्सेन्टिव्स दिने घोषणा गरेका थिए । यसको असर समेत कच्चा तेलको मूल्यमा देखिने विश्लेषकहरुले बताएका मिडिया रिपोर्टहरुमा जनाइएको छ ।