काठमाण्डौ । आर्थिक मन्दीको आशङ्काले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा असर देखिन थालेको छ । 

विगत केही दिनको तथ्यमा आधारित रहेर हेर्ने हो भने अमेरिकाको बेञ्च मार्क क्रूड आयल(कच्चा तेल)को मूल्य प्रतिब्यारेल १०० डलरभन्दा तल झरिसकेको छ । 

आर्थिक मन्दीका कारण पेट्रोलियम पदार्थको मागमा गिरावट आउनसक्ने आँकलनका बीच मूल्य घट्न थालेको हो । अन्तराष्ट्रिय क्षेत्रका तेल विश्लेषकहरुले जारी वर्ष २०२२ को अन्तसम्ममा कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ६५ डलरसम्म सीमित हुनसक्ने दाबी गरेका छन् । 

मंगलबार वेस्ट टेक्सास इण्टरमिडिएट क्रूडको मूल्य ८.४ प्रतिशतले घटेर प्रतिब्यारेल ९९.२९ अमेरिकी डलरमा आइपुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि मई महिनामा पनि यस्तो क्रूडको मूल्य ९९ डलर प्रतिब्यारेलभन्दा तल झरेको थियो । 

विज्ञहरुले कच्चा तेलको मूल्यमा गिरावट यो वर्ष मात्र नभई अर्को वर्ष पनि जारी रहने प्रक्षेपण गरेका छन् । सन् २०२३ को अन्तसम्ममा कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ४५ डलरसम्म आउनसक्छ । 

रोयटर्सको एक रिपोर्टमा सिटी ग्रुपलाई उद्धृत गर्दै बताइएअनुसार सन् २०२२ र २०२३ मा रुसी कच्चा तेलको निर्यात बढेर जानसक्छ । विश्वमा हुने कच्चा तेलको मागमा आउनसक्ने कमीका कारण रुस बाहेकका देशमा रहेको तेलको स्टक बढ्नेछ र यहीकारण आगामी दिनमा मूल्य घट्नेछ । 

सिटी ग्रुपको अनुमानअनुसार ब्रेन्ट क्रूड सन् २०२२ तेश्रो त्रैमासमा ९९ डलर प्रतिब्यारेल तथा चौथो त्रैमासमा ८५ डलर प्रतिब्यारेलसम्म आइपुग्नसक्नेछ । कुल मिलाएर सन् २०२२ मा यस्तो क्रूडको मूल्य ९८ डलर प्रतिब्यारेल र सन् २०२३ मा ४५ डलर प्रतिब्यारेलसम्म आउनसक्ने सिटी ग्रुपको दाबी छ । 

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आउँदा त्यसको असर भारतीय बजारमा समेत पर्नेछ । भारतमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आयो भने त्यसको सोझो लाभ नेपाललाई पनि हुनेछ । नेपालले आफूलाई आवश्यक सबै खालका पेट्रोलियम पदार्थ भारतबाटै आयात गर्दै आएको छ । हाल इन्धनको मूल्य बढ्दा भारतसँगको व्यापार घाटा अझ फराकिलो बन्दै गएको छ । 

भारतमा हाल पेट्रोलको मूल्य प्रतिलिटर ९६ देखि १११ भारुसम्म रहेको छ । यदि आउने दिनमा प्रक्षेपण गरिएजस्तो कच्चा तेलको मूल्यमा कमी आयो भने भारतीय जनतालाई मात्र नभएर नेपालीलाई पनि बढ्दो महङ्गीबाट केही राहात प्राप्त हुने आशा गर्न सकिन्छ । 

भारतमा पेट्रोल÷डिजेलको मूल्य अन्तराष्ट्रिय कच्चा तेलको मूल्यमा हुने घटबढका आधारमा तय हुन्छ । यस्तै, नेपाल आयल निगमले निर्धारण गर्ने मूल्य चाहिँ इण्डियन आयल कर्पोरेसनले प्रत्येक १५ दिनमा पठाउने सूचीका आधारमा तय हुन्छ । पछिल्लो समय भारतले रुसबाट कच्चा तेलको आयात बढाउँदै लगेकोले पनि भविष्यमा सस्तो तेल भारत हुँदै नेपालसम्मै आउनसक्ने सम्भावना देखिन्छ । 

(एजेन्सीहरुको सहयोगमा)