काठमाण्डौ । अमेरिकी अर्थतन्त्रमा मन्दी आउनसक्ने त्रासका बीच कच्चा तेलको मूल्यमा पहिरो गएको छ । 

विगत केही सातादेखि कच्चा तेलको मूल्यमा लगातार गिरावट आइरहेको छ । यो क्रमले थप तीव्रता पाएसँगै बिहीबार कच्चा तेलको मूल्यमा पहिरो गएको हो । 

अन्तराष्ट्रिय बजार खुलेसँगै कच्चा तेलको मूल्य पहिरो गएको देखिएको हो । बिहान ९ बजेसम्मको अपडेट अनुसार डब्ल्यूटीआई क्रूडको मूल्यमा ५ प्रतिशतभन्दा बढीको पहिरो गइसकेको छ । 

प्रतिब्यारेल ५.३९ प्रतिशतले मूल्य घटेर डब्ल्यूटीआई क्रूड प्रतिब्यारेल ९१.११ डलरसम्म झरिसकेको छ । मूल्य झर्ने क्रम अझै बढ्नसक्ने देखिएको छ । 
यस्तै, ब्रेन्ट क्रूडको मूल्यमा पनि ५ प्रतिशत हाराहारीमा पहिरो गइसकेको छ । ब्रेन्ट क्रूडको मूल्य घटेर प्रति ब्यारेल ९५.१७ मा सीमित बन्न पुगेको हो । यसको मूल्य पनि आज अझै घट्नसक्ने ट्रेण्ड देखिएको छ । 

योसँगै अधिकांश देशमा उत्पादित कच्चा तेलको मूल्यमा समेत गिरावट आएको देखिएको छ । 

रसियामा उत्पादित तेलको मूल्य घटेर यसअघि नै प्रतिब्यारेल ८० डलर हाराहारीमा पुगिसकेको छ । 

विश्लेषक तथा तेल विज्ञहरुले कच्चा तेलको मूल्य अझै घट्नसक्ने प्रक्षेपण गरिरहेका छन् । 

सन् २०२२ भित्रमा तेलको मूल्य घटेर प्रति ब्यारेल ६५ डलरसम्म र सन् २०२३ भित्रमा अझै घटेर प्रति ब्यारेल ४५ डलरसम्म आउनसक्ने उनीहरुको प्रक्षेपण छ । 

कच्चा तेलको मूल्यमा यसैगरी गिरावट आइरह्यो भने नेपालजस्ता देशहरुलाई निकै ठूलो लाभ हुनेछ । नेपालले आफूलाई आवश्यक पेट्रोलियम पदार्थ भारतबाट आयात गर्ने गर्दछ । भारतले कच्चा तेल रिफाइन गरी नेपाललाई पठाउने गरेको छ । अन्तराष्ट्रिय बजारमै तेलको मूल्य घटेमा भारतबाट नेपाल आउने तेलको मूल्य समेत घटेर आउनेछ । यसले भारतसँगको उच्च व्यापार घाटा कम गर्नेछ भने विदेशी मुद्रा सञ्चितीमा पनि राहात पुग्नेछ । 

पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएसँगै ढुवानी खर्च घट्नेछ भने यसको सोझो प्रभाव मुद्रास्फितिमा पर्नेछ । इन्धनको मूल्यमा निरन्तर गिरावट आए ढुवानी खर्च बढेको वा यस्तै बाहानामा बजारमा भइरहेको मनपरी मूल्यवृद्धिमा समेत ब्रेक लाग्ने अपेक्षा गर्न सकिन्छ ।