काठमाण्डौ । कच्चा तेलको मूल्य सन् २०२२ को न्यून स्तरमा झरेको छ। 

इकोनोमिक टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल ७६ डलर नजिकै कारोबार भइरहेको छ। जुन गत मार्चमा १२९ डलरबाट तीव्र गिरावट आएपछि २०२२ मा सबैभन्दा न्यून स्तरमा झरेको हो। 

विज्ञहरुका अनुसार आगामी दिनमा कच्चा तेलको भाउमा अझै गिरावट आउन सक्छ। 

युक्रेनमा रुसको हमलापछि बजारमा अनिश्चितताको वातावरण बनेको थियो। जसका कारण कच्चा तेलको भाउ बढेको थियो।

यसअघि २०२१ डिसेम्बर १ मा कच्चा तेलको मूल्य प्रतिब्यारेल ६८.८६ डलर थियो। तर, सोमबार अर्थात २०२२ डिसेम्बर १२ मा डब्ल्यूटीआई क्रुड प्रतिब्यारेल ७१.५४ डलरमा कारोबार भएको थियो। योसँगै ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ७६.४५ डलर पुगेको छ। पश्चिमी देशहरुले रुसी कच्चा तेलमा प्रतिब्यारेल ६० डलरको मूल्य क्याप तोकेपछि कच्चा तेलको मूल्यमा थप गिरावट देखिएको छ। 

कच्चा तेलको मूल्यमा गिरावट आउनुमा ३ वटा मुख्य कारण देखिएको छ। जसमा पहिलो कारण आगामी दिनमा मागको चिन्ता हो। विश्व अर्थतन्त्र तीव्र गतिमा ओरालो लागेकोले भविष्यमा तेलको माग पनि घट्ने अनुमान गरिएको छ। 

कच्चा तेलको भाउ घट्नुको अर्को कारण चीनमा कोरोना संक्रमण फेरि बढ्न रहेको छ। तेस्रो कारण रुस र युक्रेनबीचको लामो युद्ध हो।

कच्चा तेलको मूल्यमा गिरावट आउनुमा चीनको शून्य कोभिड नीतिलाई पनि प्रमुख कारण मानिएको छ। यही नीतिका कारण उद्योगको काम नराम्ररी प्रभावित भएको छ। जसका कारण कच्चा तेलको माग घटेको छ। विश्व बजारमा कच्चा तेलको मूल्य घटिरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आए पनि नेपालमा पेट्रोल र डिजेलको मूल्य घटाइएको छैन। नेपालमा लामो समयदेखि पेट्रोल र डिजेलको भाउ स्थिर रहेको छ। 

नेपालले भारतबाट इन्धन आपूर्ति गर्ने गरेको छ। भारतमा पनि लामो समयदेखि पेट्रोल र डिजेलको भाउ ठूलो उतारचढाव हुन सकेको छैन। –एजेन्सी