काठमाण्डौ । कच्चा तेलको मूल्यमा आएको उछालले तेल आयातकर्ता देशहरुको चिन्ता बढ्नसक्छ किनभने सोमबार ब्रेन्ट क्रूड(कच्चा तेल)को मूल्य ३ वर्षकै उच्च विन्दूमा पुुगेको छ । 

कारोबारका क्रममा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलरसम्म पुुगेको हो । 

यसअघि सन् २०१५ को सुरुवातमा समेत कच्चा तेलको मूल्य यही स्तरमा पुुगेको थियो । पछिल्लो ६ महिनाको कुरा गर्ने हो भने कच्चा तेलको मूल्यमा ५७ प्रतिशतको उछाल आइसकेको छ । जून महिनामा कच्चा तेलको मूल्य प्रति ब्यारेल ४४.४८ डलरमा सीमित थियो । 

न्यूज एजेन्सी रोयटर्सले विश्लेषकहरुलाई उद्धृत गर्दै लेखे अनुसार कच्चा तेलको मूल्य निकट भविष्यमै प्रति ब्यारेल ८० डलरको उचाईमा पुुग्नसक्नेछ ।

अन्तराष्ट्रिय मूल्यमै बढोत्तरी भइरहेका कारण इण्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाउने गरेको छ । बढेरै मूल्यसूचि आएको भन्दै निगमले समेत १ महिनाको अवधिमा ३ पटकसम्म मूल्यवृद्धि गरिसकेको छ । 

नेपाललाई आवश्यक पेट्रोलियम पदार्थ भारतबाट मात्र आउने भएकोले कच्चा तेलको मूल्यमा भएको बढोत्तरीले भारतले पठाउने तेलको मूल्य समेत बढ्नेछ । यसले नेपाल आयल निगमलाई समेत मूल्यवृद्धिका लागि दवाब पुुग्नेछ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा ढुवानी तथा लागत खर्च बढी अन्ततः महंगी बढाउन मद्धत पुुग्नेछ । 

यसकारण अझै बढ्नसक्छ भाउ
करिब एक महिनाअघि तेल निर्यातकर्ता देशहरुको साझा संगठन ओपेकको बैठकले कच्चा तेल उत्पादनमा हाल जारी कटौति सन् २०१८ को अन्तसम्म निरन्तर गर्ने निर्णय गरेको थियो । यो कदमको मुख्य उद्देश्य लगातार गिरावटको मार व्यहोरिरहेको कच्चा तेलको मूल्यलाई माथि उठाउने रहेको थियो ।

यसको स्पष्ट अर्थ कच्चा तेलको मूल्यमा लगातार बढोत्तरी आओस् भन्ने थियो, अहिलेको  संकेत त्यस्तै देखिएको छ ।

ओपेकको भियानास्थित हेडक्वार्टरमा एकमहिनाअघि केही घण्टासम्म भएको छलफलमा सदस्य राष्ट्र कच्चा तेलको उत्पादन कटौतिलाई जारी राख्न सहमत भएका थिए । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा नियन्त्रण राख्ने प्रयास कतिसम्म सफल हुन्छ या हुन्न भन्ने कुरा ओपेक र ननओपेक देशले आगामी दिनमा उठाउनसक्ने कदममा निर्भर रहनेछ । यदि दुवै खालका देश उत्पादन कटौतिको बिषयमा सहज रुपमा सहमत बने भने निश्चित छ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यले अझ उचाई चुम्नेछ र त्यसपछि हाम्रो देशको पेट्रोलियम पदार्थको मूल्य समेत आकाशिनेछ ।