काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा प्रत्येक दिनजसो नयाँ–नयाँ रेकर्ड बनाइरहेको पेट्रोलियम पदार्थको मूल्यमा अझै उछाल आउनसक्ने प्रक्षेपण सार्वजनिक भएको छ । 

अन्तराष्ट्रिय संचारमाध्यमहरुले यसको कारणको रुपमा तेल उत्पादक देशहरुको साझा संगठन ओपेकले तेलको उत्पादन बढाउन अस्वीकार गरेको बिषयलाई प्रस्तुत गरेका छन्। 

ओपेकको यही निर्णयका कारण कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० डलरभन्दा माथि पुगिसकेको छ । ग्लोबल विश्लेषकहरुका अनुसार अमेरिकी प्रतिबन्धका कारण इरानबाट आपूर्ति घटेका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरसम्म पुग्ने संभावनाहरु देखिन थालेका छन् । 

रुसको अगुवाईमा तेल उत्पादक तथा निर्यातकर्ता देश(ओपेक) तथा यसको सहयोगी देशहरुले गत हप्ता निर्णय गरेका थिए कि प्रतिबन्धबाट प्रभावित इरानबाट रोकिने आपूर्तिबाट सिर्जित कुनै पनि अभावलाई पूर्ति गर्नका लागि कुनै पनि रुपमा उत्पादनलाई बढाइने छैन । यसपछि सोमबार कच्चा तेलको मूल्य प्रतिब्यारेलमा २ डलर बढेर ८१ डलरको उचाईमा पुगेको थियो । 

साउदी अरबले आपूर्तिमा कुनै पनि समस्या नरहेको र सबै देशहरुले भनेजति नै तेल पाइरहेकाले तत्काल उत्पादन बढाउनुपर्ने कुनै पनि आवश्यकता नरहेको जिकिर सार्वजनिक गरेको छ । 

ओपेकको उत्पादन नबढाउने यो निर्णयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई झट्का दिएको दाबी गरिएको छ । ट्रम्पले तेलको मूल्यलाई काबुमा राख्नका लागि तत्काल उत्पादन बढाउने पक्षमा जोड दिंदै आएका थिए । 

ओपेक तथा त्यसका सहयोगी देशहरुले उत्पादन बढाउन अस्वीकार गरेकै कारण आगामी वर्षको सुरुवातसम्ममा कच्चा तेलको मूल्य बढेर १०० डलर प्रतिब्यारेलसम्म पुग्ने अनुमान गर्न थालिएको छ । ब्लुमबर्गले विज्ञहरुलाई उद्धृत गर्दै भनेको छ कि क्रिस्टमससम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलरसम्म पुग्ने र जनवरीदेखि १०० डलरसम्म पुग्नसक्ने जनाएको छ । 

नेपालले आफूलाई आवश्यक पेट्रोलियम पदार्थ भारतबाट आयात गर्छ । भारतले आफूलाई आवश्यक पर्ने ८३ प्रतिशत कच्चा तेल आयात गर्दै आएको छ । तर, डलरसँग भारु तीव्र अवमूल्यनमा परिरहेका कारण भारतले आगामी दिनमा ठोस कदम चाल्न सक्छ । त्यो भनेको कच्चा तेलको आयात घटाउनसक्ने विश्लेषण गर्न थालिएको छ । भारतले कच्चा तेलको आयात घटाउने कदम चाल्यो भने त्यसले नेपाललाई समेत प्रभाव पार्न सक्छ ।

नेपाललाई आवश्यक पेटोलियम पदार्थ भारतले नदिन सक्छ, यसले पेट्रोलियम पदार्थको हाहाकार मच्चिनसक्ने खतरा देखिएको विश्लेषकहरुले बताइरहेका छन् ।