काठमाण्डौ । हालसालै ओम डेभलपमेन्ट बैंकलाई गाभेको एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंक लिमीटेलाई समेत प्राप्ति गर्ने भएको छ। 

एनएमबी बैंक र कञ्चन डेभलपमेन्ट बैंकबीच आपसमा गाभ्ने गाभिने विषयमा आइतबार प्रारम्भिक समझदारीमा हस्ताक्षर भएको हो । 

‘कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहँुचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको छ, जसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको छ ।’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

कञ्चन डेभलपमेन्ट बैंक कैलाली, कञ्चनपुर, डंडेलधुरा, बैतडी र डोटी गरी ५ वटा जिल्लामा कार्यक्षेत्र रहेको बैंक हो । यस बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन् । 

एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक लिमीटेडलाई प्राप्ति गरे पश्चात यस बैंकको सुदूरपश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या ४ पुग्नेछ । 

यसबाट बैंकको उक्त प्रदेशमा शाखा सञ्जाल बलियो भई उक्त क्षेत्रका सर्वसाधारण जनताहरुलाई थप बैंकिङ्ग सेवा प्रदन गर्न सक्षम हुने विश्वास लिइएको छ ।

कञ्चन डेभलपमेन्ट बैंक हालसम्म सक्षम संस्थाको रुपमा सुदूरपश्चिमका सर्वसाधारणहरुलाई प्रभावकारी सेवा प्रदान गर्दै आएको राष्ट्रिय स्तरको “ख” वर्गको बैंक हो । 

एनएमबी बैंकले विगत २५ वषैदेखि कारोबार गर्दै आइरहेको छ भने कञ्चन डेभलपमेन्ट बैंकले १० वर्षदेखि बैंकिङ सेवा दिंदै आएको छ ।