काठमाण्डौ । गत वर्ष २०२२ मा चीनको अर्थतन्त्र झन्डै आधा शताब्दीमा दोस्रोपटक सबैभन्दा सुस्त दरमा बढ्यो। यो देशको कडा कोरोनाभाइरस नियमहरुले व्यवसायहरुलाई कसरी असर गरेको छ भन्ने संकेत हो।

आधिकारिक तथ्यांकअनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्र सन् २०२२ मा ३ प्रतिशतको दरले वृद्धि भएको छ। यो चिनियाँ सरकारले तोकेको ५.५ प्रतिशत लक्ष्यभन्दा निकै कम हो। यद्यपि, धेरै अर्थशास्त्रीले चीनका लागि अझ कम वृद्धि दरको भविष्यवाणी गरेका थिए।

गत महिना चीनले आफ्नो कडा शून्य–कोभिड नीतिमा लचकता अपनाएको थियो। चीनको यो नीतिले देशको आर्थिक गतिविधिमा ठूलो प्रभाव पारेको थियो तर कोभिड नियममा एक्कासि खुकुलो बनाउँदा कोरोनाका केस पनि बढेका छन्। जसका कारण सन् २०२३ को प्रारम्भिक महिनामा वृद्धिदरको जोखिम पनि बढेको छ।

गत वर्ष चीनको आर्थिक वृद्धिदर सन् १९७६ यताकै सबैभन्दा कमजोर थियो। अर्थशास्त्रीहरुले हालैका महिनाहरुमा विश्वव्यापी अर्थतन्त्रको अवस्थाबारे चेतावनी दिएका छन्।

गत हप्ता विश्व बैंकले विश्वव्यापी अर्थतन्त्र ‘चिन्ताजनक रुपमा मन्दीतर्फ गइरहेको’ भनेको थियो। युक्रेनमा रुसको युद्ध र कोरोना महामारीको प्रभावका साथै अन्य धेरै कारण यसका पछाडि जिम्मेवार रहेको बताइएको छ। –एजेन्सी