काठमाण्डौ । नेपाल फाइनान्स लिमीटेडले ८ वटा आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक आयोजना गरी पारित गरेको हकप्रदको विषय अहिले छायाँमा परेको छ । 

यो कम्पनीले २० औंदेखि २७ औं वार्षिक साधारणसभा गरी चुक्तापूँजी वृद्धिका लागि १ः१.७५ प्रतिशतको दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । तर, सो प्रस्तावको विषय अहिले छायाँमा परेको हो । 

हकप्रदमा जानुअघि नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया पूरा गरेको थियो । ललितपुर फाइनान्ससँग प्राप्तिको प्रक्रिया सकिएपछि एकीकृत कारोबार समेत सुरु भइसकेको छ । मर्जरपछि नेपाल फाइनान्सको चुक्तापूँजी ४९ करोड पुगेको छ । 

फाइनान्सले ८ वटा आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक गर्दै त्यहीँबाट चुक्तापूँजीलाई बढाएर ८४ करोड २ लाख ६५ हजार ५९४ रुपैयाँ पुर्याउने निर्णय गरिसकेको छ । यो हिसाबले ललितपुर फाइनान्स प्राप्तिपछि कम्पनीले चुक्तापूँजी वृद्धिका लागि पारित भइसकेको हकप्रद सेयर निश्कासनका बाँकी प्रक्रिया अगाडि बढाउने देखिन्छ । 

नेपाल फाइनान्सस्थित एक उच्च स्रोतका अनुसार कम्पनीले निकट भविष्यमै १ः१ अनुपातमा हकप्रद सेयर निश्कासनको प्रक्रियालाई अगाडि बढाउने तयारी गरिरहेको छ । ‘हामीले ललितपुर फाइनान्स नलिंदा १ः१.७५ प्रतिशतको दरले हकप्रद निश्कासनको निर्णय गरेका थियौं ।’ कम्पनीका एक संचालकले भने–‘ललितपुर फाइनान्स लिएपछि चुक्तापूँजी ४९ करोड पुगिसकेकोले हामीले अब १ः१ अनुपातको हकप्रद निश्कासनको प्रक्रिया अगाडि बढाउने निर्णय गरिसकेका छौं ।’ 

यो विषयको प्रक्रिया चाँडै सुरु हुने उनले दाबी गरे । हकप्रदको हल्ला गरेर पछिल्लो समय बजारमा खेल्ने काम भइरहेको प्रसंग बिजशाला संवाददाताले उठाउँदा ती संचालकले भने–‘हाम्रो त निर्णय नै भइसकेको कुरा हो । बजारमा खेल्न खोजेको भन्ने सवाल नै उठ्दैन नि।’ 

ती संचालकले वार्षिक साधारणसभाबाटै पारित भइसकेको हकप्रद निश्कासनको विषयलाई धितोपत्र बोर्ड र नेपाल राष्ट्रबैंकले पनि नरोक्नेमा आफूहरु ढुक्क रहेको सुनाए । 

पूँजी वृद्धि गरी नेपाल फाइनान्सलाई आक्रामक रुपमा अगाडि बढाउने योजना समेत रहेको ती संचालकले जानकारी दिए ।