काठमाण्डौ । आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म कुल २४५ बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका छन्।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांकले यस्तो देखाएको हो। वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात २०७९ असार मसान्तसम्म कुल २४५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएको र यसमध्ये १७८ संस्थाहरुको इजाजत खारेज हुन गई ६७ संस्था कायम भएका छन्। 

यस्तै कुल ७५३ स्थानीय तहमध्ये २०७९ असारसम्म ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन्। २०७८ असारसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए। 

राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७९ असार मसान्तमा १२६ रहेको छ । यसमध्ये २६ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्। 

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असार मसान्तमा १० हजार ६८३ रहेकोमा २०७९ असार मसान्तमा ११ हजार ५२८ पुगेको छ।