काठमाण्डौ । तपाईंले कहिले सोच्नुभएको छ, तपाईंको आदतका कारण नै कयौं मानिसले करोडौं रुपैयाँ कमाइरहेका छन् । हाम्रो कुरा सुनेर तपाईं भन्नुहोला, किन मजाक गरिरहेको सम्पादक ज्यू ? तर हामीले मजाक गरेको होइन, यथार्थ भनिरहेका हौ । विश्वमा केही मानिस यस्ता पनि छन् जो हाम्रो सौख,  हाम्रा आदतहरुको फाइदा उठाएर निकै राम्रो पैसा कमाइरहेका छन् । 

आउनुहोस्, आज हामी तपार्इंलाई यस्तै केही विदेशी मानिसहरुको कथा सुनाउँछौ । 

धेरै मानिस हरेक दिन, हरेक क्षण कफी पिउन मन पराउँछन । कतिपयको त कफीबिना पाइला नै अघि सर्दैन । यस्ता मानिसहरुको यस्तै आदतबाट इटलीका जुलियन लेक्नरले लाखौं रुपैयाँ कमाइरहेका छन् । वास्तवमा हामी जुन कफी पिउँछौ, त्यसलाई बनाएपछि पिँधमा कफीको दाना वा टुक्रा बच्छ । यिनै बेकारको जस्तो लाग्ने चिजहरुबाट जुलियन कफीको कप र प्लेट बनाउने गर्छन । 

उनलाई यो आइडिया एकदिन निकै धेरै कफी पिउने क्रममा फुरेको थियो । पढाई पूरा गरेपछि उनले जर्मनीमा यसका लागि एउटा उद्योग नै स्थापना गरे । हिजोआज ६ कप कफी बनाएपछि पिँधमा बचेको दानाबाट जुलियन एउटा कप तयार गर्छन् । 

कफीको दानाबाट बनेको कप र प्लेटको मूल्य २२ डलर राखिएको छ । यो निकै महंगो रहेछ भन्ने सोचिरहनुभएको होला । तर यो कपमा कफी नै नहाले पनि अन्य चिज यसमा राखेर पिउँदा कफीकै मीठो बास्ना आइरहन्छ । यो कपमा चिया राखेर पिउनुभयो भने पनि त्यसमा निकै मीठो स्वाद आउँछ । जुलियनले ४० हजार यूरो ऋण लिएर कफी फार्म नामको एक कम्पनी नै सुरु गरेका थिए । 

उनले हरेक दिन तमाम कफी पसलबाट हरेक महिना ५ सय किलो कफीको बचेको दाना खरीद गर्छन् र यसबाट कप प्लेट बनाउँछन । यस्तो दानालाई संकलन गरेर जुलियनले नै लिइदिने भएपछि धेरै कफी सपलाई फोहोरको रुपमा कफी बनाएपछि बचेका दाना फाल्नुपर्ने झञ्झट पनि हुन्न । जुलियनले आफूले लिएको ऋण तिरिसकेपछि कफीको दानाबाट बनेको कप र प्लेट अझ सस्तो दरमा बिक्री गर्ने योजना बनाएका छन् । 

जुलियन जस्तै हुन् अमेरिकाका अमन आडवाणी । उनी कुनै बेला आफ्नो जुराफ गन्हाउने र दिनभरि लगाएका कारण भिज्ने समस्याबाट दिक्क थिए ।

एकदिन यात्राकै क्रममा उनमा कफी बनाएपछि बच्ने दानाको मद्धतबाट मोजा बनाउने आइडिया फूर्यो । अमनले एक प्रतिष्ठित कम्पनीको विजिनेश सल्लाहकारको जागिर छाडे र एक साथीको मद्धतबाट ‘मिनिस्ट्री अफ सप्लाई’ नामको कम्पनी सुरु गरे । 

अमन पोलिस्टरको धागोमा कफीको दाना मिलाएर नयाँ रेशा बनाउँछन । फेरि यसैको मद्धतबाट नयाँ तरिकाको जुराफ बनाउने काम गर्छन । यस्तो जुराफ निकै आरामदायी हुन्छ । र, यो जुराफ जति लगाए पनि गन्ध आउँदैन । यो जुराफलाई अन्य जुराफजस्तै लगाउन सकिन्छ । लगातार १० दिनसम्म लगाउँदा समेत अमनले कफीको टुक्राबाट बनाएका जुराफ गन्हाउँदैन । 

तर, उनी सल्लाह दिन्छन् कि नगन्हाए पनि यो जुराफ प्रत्येक दिन धोएरै लाउने गर्नुहोस् । अमनले उत्पादन गर्ने जुराफ ४० प्रतिशत कफीको दानाबाट उत्पादन हुने रेशा र बाँकी ६० प्रतिशत पोलिस्टरको रेसाबाट बन्ने गर्छ । उनी पनि आफ्नो उद्योग वरपरका सबै कफी पसलले फोहोरको रुपमा फ्याक्ने कफीको काम नलाग्ने दाना प्रत्येक दिन संकलन गर्छन । 

अमनजस्तै व्यवसायी हुन् ताइवानका जेसन चेन पनि । 

उनी चाहि कफी बनाएपछि फाक्ने दानाको मद्धतबाट कपडा तयार गर्ने काम गर्छन् । उनले बनाएको यो कपडा निकै चर्चित ब्राण्ड अमेरिकन इगल, टिम्बरल्याण्ड र  एलएल बिनले समेत आफ्नो प्रोडक्टमा प्रयोग गर्छन । 

जेसनको कपडामा १ देखि डेढप्रतिशत भाग कफीको हुन्छ । कुनै बेला आफ्नी पत्नीको साथमा एक कफी क्याफेमा गएको बेला जेसनको दिमागमा यस्तो आइडिया फुरेको थियो । त्यहाँका मालिकले कफी बनाएपछि बाँकी रहेको फोहोर समानको दानालाई कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा केही आइडिया जेसनसँग मागे । त्यहीबेला जेसनकी पत्नीले जिस्किएर आफ्नो कपडामा लगाउनुहोस् यी कफीका टुक्रा, कम्तीमा गन्ध त आउदैन् भनेर मजाक गरिन् । यही कुराले जेसनको दिमागमा लड्डू फूट्यो र कफीको दानालाई कपडा बनाउने काम सुरु गरे । 

कफीको दानाबाट बनेको कपडाको व्यापार गरेर आज जेसनले करोडौैको कारोबार गरिरहेका छन् । आजको समयमा जेसनको उद्योगले हरेक दिन ५ सय केजी कफीको दानाको प्रयोग गरी एस फेब्रिक्स नामबाट कपडा बनाइरहेका छन् । जेसनको यो व्यापार चम्किएसँगै आसपासका सबै कफी सपहरुको कफी बनाएपछि दाना(फोहोर) फाल्ने लफडा समेत अन्त भएको छ । 

कफी बनाएपछि बचेका दानाहरुको प्रयोगबाट कतिपयले ब्रिकेट बनाउने गरेका छन् भने कतिपयले खेतमा प्रयोग हुने खाद मल समेत बनाउने गरेका छन् । 

कफी बनाएपछि बचेको दाना र टुक्राटुक्रीको सबैभन्दा गजबको प्रयोग त ब्रिटेनकी रोजाली म्याकमिलनले गरिरहेकी छिन् ।

यस्ता टुक्राटुक्रीको मद्धतबाट उनले चाहि गरगहना बनाउने गर्छिन । यस्ता गरगहनामा उनले सुन र चाँदी समेत मिसाउने गर्छिन । रोजालीले हालै जावा ओर नामबाट आफ्नो कफीबाट बनाइएको गहनालाई बजारमा उतारेकी छिन् । उनले कफीको टुक्राको मद्धतबाट चूरा, नेक्लेस, औंठी र कानमा लगाउने गहना बनाउने गर्छिन । 

उनले कफीबाट बनाउने गरेको यो खास गहना अनलाइनबाट समेत किन्न पाइन्छ । ब्रिटेनका कयौ ठूला स्टोरहरुले समेत उनले बनाएको यो अनौठो उत्पादन बिक्री गर्छन । यस्ता गहनाको मूल्य १ सयदेखि ५ सय डलरसम्म राखिएको हुन्छ । 

यी सबैभन्दा भिन्न छन् इण्डोनेशियाका कलाकार घिदाक अल निजार, जो कफी बनाएपछि फालिने दानाको मद्धतबाट आर्ट तयार गर्छन् ।

यस्तो आइडिया उनमा पनि कफी पिएपछि पिँधमा जम्मा भएको दाना र टुक्राटुक्री देखेर आएको थियो । त्यसपछिदेखि नै उनले आफ्नो आर्टमा कफीको मिश्रण गर्न थालेका हुन् । अहिले उनी कफीको सुगन्ध आउने पेन्टिङ बनाउने गर्छन् । यो कार्यबाट कफीको दानाको समेत सही प्रयोग भइरहेको छ र पैसा समेत आर्जन भइरहेकै छ । 

आजको समयमा इन्स्ट्राग्राममा उनको एउटा  कफी आर्टको मूल्य ७० हजार रुपैयाँ भन्दा बढी राखिएको छ । 

अतः देख्नुभयो त तपाईंले, कफी पिउने हाम्रो आदतले कतिलाई करोडपति बनाइरहेको रहेछ ?

बीबीसीबाट भावानुवाद