काठमाण्डौ । प्राविधिक गडबडीले कहिलेकाही नसोचेको घटना हुन पुग्छ । यस्तै घटना भारतमा भएको छ । 

भारतको महाराष्ट्र प्रान्तको नागपुरमा अचानक मानिसहरुको थामिनसक्नु भीड लाग्यो, कारण थियो त्यहाँको एउटा बैंकको एटीएम मसिनले मागेभन्दा ५ गुणा बढी पैसा दिनू । 

नागपुर जिल्लास्थित एक एटीएम मेसिनबाट एक व्यक्तिले रु. ५०० निकाल्न खोजे, तर ५०० भारुका ५ वटा नोट निस्किए । ती व्यक्तिलाई आश्चर्य लाग्यो । दोश्रोपटक पुनः रु.५०० का लागि आदेश प्रविष्ट गरे, फेरि उस्तै गरी २५०० रुपैयाँ निस्कियो । 

यो घटना बुधबार नागपुर शहरबाट ३० किलोमिटरको दूरीमा अवस्थित खापरखेड शहरको एक निजी बैंकले लगाएको एटीएममा भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

हेर्दा हेर्दा यो खबर भूसको आगो झै फैलियो र एटीएम बाहिर पैसा निकाल्न मानिसहरुको थामिनसक्नु भीड नै लाग्यो । 

एक बैंक ग्राहकले प्राविधिक गडबडीबाट मागेभन्दा पाँचगुणा बढी पैसा एटीएमबाट निस्किरहेको सूचना स्थानीय प्रहरीलाई दिए । प्रहरी तुरुन्तै पुगेर एटीएम बन्द गरिदियो र यो सूचना बैंकलाई दिएपछि मात्र बैंक व्यवस्थापनलाई थाहा भएको समाचारमा उल्लेख छ । 

एक बैंक अधिकारीलाई उद्धृत गर्दै समाचारमा बताइएअनुसार ५०० रुपैयाँको नोटलाई भूलवश १०० रुपैयाँको ट्रेमा राखिएको थियो । यसलाई बैंकले प्राविधिक गडबडी भनेको छ । 

सर्वसाधारणले कति पैसा बढी निकाले भन्ने विषय समाचारमा उल्लेख गरिएको छैन । 
-एजेन्सी