काठमाण्डौ । सरकारले सीमा क्षेत्र नजिक मालवस्तु भण्डारण गर्ने नयाँ गोदा राख्न नदिने भएको छ । 

राजश्व चुहावट नियन्त्रणको उद्देश्यले यस्तो व्यवस्था गर्न अर्थमन्त्री डा.  युवराज खतिवडाले मातहतका निकायलाई कडा निर्देशन दिएका हुन् । 

उनले सीमा क्षेत्रमा मालवस्तु भण्डारणका लागि राखिएका पुराना गोदामहरुको नियमित अनुगमन गर्न समेत निर्देशन दिएका छन् । 

यसैगरी, अन्य व्यक्तिको नामबाट व्यवसाय संचालन गरी कर चुहावटको प्रवृति बढ्दै गएको भन्दै अर्थमन्त्री डा. खतिवडाले व्यवसाय र कम्पनी दर्तामा थप कडाई गर्न समेत निर्देशन दिएका छन् । 

कम्पनी दर्ता गर्दाकै अवस्थादेखि नै प्रोप्राईटररसंचालकहरुको वास्तविकता बुझेर मात्र दर्ता गर्ने गराउने व्यवस्था गर्ने, कारोबार विस्तारको अनुपातमा राजस्वको दायरामा नआएका क्षेत्रहरु पहिचान गरी आवश्यक कारबाही गर्ने, फेक बिलिंग, अण्डर बिलिंग र नो बिलिंग जस्ता विषयलार्य कानूनी कारबाहीको दायरामा ल्याउने व्यवस्था गर्न समेत उनले निर्देशन दिएका छन् । 

आइतबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको राजस्व चुहावट नियन्त्रण उच्चस्तरीय अनुगमन समितिको बैठकमा सहभागी विभिन्न निकायका महानिर्देशकहरुलाई उनले यस्तो निर्देशन दिएका हुन् । 

बैठकमा अर्थ सचिव, राजस्व सचिव, गृह सचिव, प्रधानमन्त्री तथा मन्त्रिपिरषद् कार्यालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक लगायत अर्थ मन्त्रालय अन्तर्गतका आन्तरिक राजस्व र भन्सार विभागका महानिर्देशकहरु तथा प्रधानमन्त्री तथा मन्त्रिपिरषद् कार्यालय अन्तर्गतका राजस्व  अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागका महानिर्देशकहरुको उपस्थिति रहेको थियो ।  

अर्थमन्त्रीले सो क्रममा लक्ष्यअनुसारको राजस्व संकलन नभएको सम्बन्धमा राजस्व संकलनको बैकल्पिक कार्य योजना तयार गरी सम्बन्धित सबै निकायहरुको सामूहिक प्रयासबाट राजस्व संकलनको वार्षिक लक्ष्य हासिल हुने गरी कार्य सम्पन्न गर्न, राजस्व चुहावट नियन्त्रणको लागि केन्द्रीयस्तरबाट समेत अनुगमन टोली बनाई कार्यस्थलको अनुगमन र भन्सार गस्ती परिचालनलाई प्रभावकारी रुपबाट संचालन गर्न, राजस्व कार्यलयहरुबाट अन्य निकायहरुको समेत समन्वय र सहयोग लिई सघन रुपमा बजार अनुगमन गर्नुको साथै राजस्व जोखिमका आधारमा अनलाइन बिलिंग प्रणालीलाई विस्तार गर्न, नक्कली बिल बिजकको नियन्त्रण र राजस्व चुहावट नियन्त्रणको लागि कर परीक्षण तथा अनुसन्धानमा संलग्न निकायहरुले जोखिम विश्लेषण गरी अप्रत्यक्ष विधिहरुको समेत प्रयोग गरेर कर परीक्षण तथा अनुसन्धान गर्न समेत उनले निर्देशन दिए । 

यसैगरी, राजस्व चुहावट, विदेशीमुद्रा अपचलन, हुण्डी लगायतका आर्थिक अपराधहरुको प्रभावकारी रुपमा नियन्त्रण गर्न सम्बन्धित सरोकारवाला निकायहरुको संलग्नतामा संयुक्त अनुसन्धान गर्ने व्यवस्था मिलाउन समेत मातहतका निकायलाई निर्देशन दिएका थिए । 

अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन महाशाखाका प्रमुखको राजस्व असुलीको वर्तमान अवस्था र आगामी कार्यदिशा सहितको संक्षिप्त प्रस्तुतीबाट बैठक सुरु भएको थियो । 

बैठकमा विभागीय प्रमुखहरुबाट आ-आफ्नो विभागको तर्फबाट राजस्व चुहावट नियन्त्रणको लागि भएका प्रयास, चुनौति र आगामी कार्यदिशाको बारेमा प्रस्तुति भएको थियो । 

साथै, सुरक्षा निकायका प्रमुखहरुले राजस्व चुहावटका वर्तमान प्रवृत्ति र नियन्त्रणका लागि आ-आफ्नो संगठनको तर्फबाट गरिएका प्रयासहरुको बारेमा बैठकलाई जानकारी गराएका अर्थमन्त्रालयले जनाएको छ ।