काठमाण्डौ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमीटेड दुई संस्थाको मर्जरपछि बन्न लागेको तिनाउ मिसन डेभलपमेन्ट बैंकमा मिसिने भएको छ।

तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकबीच मर्जरको सम्झौता भई तिनाउ मिसन डेभलपमेन्ट बैंक बन्ने प्रक्रिया जारी छ । यही प्रक्रियामा तेश्रो पक्षको रुपमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक पनि मिसिएको हो । 

कम्युनिटी डेभलपमेन्ट बैंकलाई समेत जारी मर्जर(एक्वीजिसन) प्रक्रियामा सामेल गर्ने विषयमा मंगलबार तीनवटै पक्षबीच एक सम्झौता भएको बताइएको छ । 

समझदारी पत्रमा तिनाउ विकास बैंकका संचालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद वझा, मिसनका अध्यक्ष टिकाराम घिमिरे र नेपाल कम्युनिटीका अध्यक्ष पशुपति घिमिरेले हस्ताक्षर गरेका छन्। 

यी तीन बैंक आपसमा मिसिएर एक सशक्त राष्ट्रिय स्तरको विकास बैंक बन्न चाहेका हुन् । 

तिनाउ र मिसनको मर्जर प्रक्रियामा सहभागी हुने भएसँगै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको दोश्रो बजारमा सेयर कारोबार रोक्का गरिएको नेप्सेले एक सूचनामार्फत जनाएको छ । 

यी तीनवटै कम्पनीमा आपसमा मर्ज भएपछि बन्ने तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमीटेडको चुक्तापूँजी १ अर्ब ६७ करोड ५७ लाख भन्दा बढी हुने बताइएको छ । 

तीनवटै संस्था गाभिएपछि निक्षेपको आकार बढेर १३ अर्ब ७७ करोड र ऋणको १२ अर्ब २३ करोड माथि पुग्ने बताइएको छ । 

तीनवटै बैंक गाभिएपछि बन्ने तिनाउ मिसन डेभलपमेन्ट बैंकको शाखा सञ्जाल संख्या ६० को हाराहारीमा हुनेछ ।