-तिलक कोइराला 
कम्युनिष्टहरुको परम्परागत सूत्र नै हो, राष्ट्रिय पूँजीपतिहरुको बिकास र आत्मनिर्भर स्वाधीन अर्थतन्त्र निर्माण तर नेपालका सत्ताधारी कम्युनिष्टहरुको परिभाषा अहिले सर्लक्कै बदलिएको छ । 

प्रधानमन्त्री केपी ओलीले डा. युवराज खतिवडालाई आफ्नो अर्थनीतिका प्रमुख योजनाकार बनाएपछि सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको अर्थतन्त्र बिकासको रणनीति बदलिएको मात्रै हैन, स्वदेशी लगानीकर्तालाई थुनेर विदेशी लगानीकर्तालाई रातोकार्पेट ओछ्याएर स्वागत गर्ने अन्तिम तयारी पनि भएको छ । यही मुख्य उद्देश्यका साथ कम्युनिष्ट सरकारले ऐन नै बनाएर अर्थतन्त्र र स्वदेशी उत्पादनका प्रायः सबै क्षेत्रमा विदेशीहरुलाई खुल्ला गरेको छ । 

समाजबादउन्मुख अर्थव्यवस्था र समृद्ध नेपाल, सुखी नेपालीको नारा अब संभवतः ओली सरकारको आह्वानमा आएर विदेशी लगानीकर्ताहरुले पूरा गरिदिनेछन् । तर यो केवल कोरा सपना मात्रै हो । 

स्वदेशी लगानीकर्ताहरुलाई आफ्नो पूँजी, प्रविधि, क्षमता र जनशक्ति प्रयोगको पर्याप्त अवसर नदिई र प्रतिकूल वातावरण बनाइदिएर जुन किसिमले विदेशी लगानीकर्ताहरुको मुख ताक्ने काम भएको छ, त्यसले देशलाई ग्रिस र भेनेजुयलाको बाटोमा अग्रसर गराउने संभावना बलियो  छ । तर, विदेशीलाई गुलिया आश्वासन बाँड्दैमा उनीहरुले रातारात  आएर  यहाँ  लगानी गरिदिने भने हैन । 

चर्को नीतिगत भ्रष्टाचार, अस्थिरता, अव्यवस्था रहेको देशमा बिदेशीहरुले नबुझी पैसा कुनै हालतमा  हाल्दैनन् । 

अर्कोतर्फ देशबाट भइरहेको युवा पलायनको अवस्थाले कामदार पाउन कठीन हुँदै गएको र स्वदेशी कच्चा पदार्थको अभाव, मूल्य महङ्गिएको, गुणस्तरहीन रहेको अवस्थामा आयात गरेर यहाँ बस्तु उत्पादन गर्नेहरुलाई यहाँअनुकुल वातावरण छदै छैन । बंगलादेश लगायतका सस्ता मजदूर रहेका देशबाट जनशक्ति आयात गरेर  यहाँ काम गराउन विदेशीले किन जोखिम लिन्छ ?

जलविद्युत, पूर्वाधार, यातायात र पर्यटन क्षेत्रमा विदेशी लगानीलाई प्र्रोत्साहित गरेर केही योजनाहरु सरकारले सोकेशमा राखेको छ ।  केही हाइड्रो र पूर्वाधारको कुरामा विदेशी लगानी आकर्षित हुनसक्ने भए पनि त्यसमा केही चिनियाँहरुले चासो देखाउलान्, तर अरु भारत र पश्चिमी देशमा लगानीकर्तामा सरकारप्रतिको व्यापक अविश्वास रहेको देखिन्छ । 

एनसेल, माथिल्लो कर्णाली र अरुण तेस्रो लगायतका आयोजनामा भएको बिस्फोट लगायतका घटनाले यहाँको शान्तिसुरक्षामा अझै धेरै चुनौति रहेको देखाउँछ भने एनसेल कर प्रकरणले लाभांश फिर्ता लैजानेसम्मका कुराहरुमा विदेशीहरुमा भरपर्दो वातावरण नरहेको उनीहरुको निश्कर्ष हुनसक्छ । 

यहाँको भ्रष्ट राजनीतिक र कर्मचारी प्रशासन देखेर नै विदेशीहरु हच्किन्छन् भने लगानी गरिहाल्ने कुरा परको होे । सरकारले केही ऐन संशोधन गरेर लगानीको वातावरण छ भन्ने देखाउन खोजे पनि व्यवहार फरक हुन्छ । देशमा कानुन नै नभएको हैन, तर सानो काम गर्न परे पनि घुस खुवाउनुपर्ने अवस्थाले कोही पनि यहाँ जोखिम मोलेर लगानी गर्न चाहँदैन । 

अहिले एनसेलले केही अर्ब लाभांश फिर्ता लैजाँदा त बैंकहरुमा पैसा रित्तिएर हाहाकारको अबस्था आयो भने सरकारले भने अनुसारकै ३७ खर्ब विदेशी लगानी आयो भने उनीहरुले लैजाने लाभांशले विदेशी विनिमय सञ्चितीलाई हाम्रो देशले कसरी धान्ला ?

एकातिर विदेशी आइहाल्ने कुरा त्यति सहज नभएको अबस्थामा रुँग्ण बन्दै गएका स्वदेशी लगानीकर्ताहरु पलायनको क्रम तीब्र हुँदैछ । औद्योगिक क्षेत्रमा खुलेका उद्योगहरु दिनदिनै बन्द हुने क्रममा छन् भने उद्योगी ब्यवसायीहरु संचालन खर्च र बैंकको ब्याज तिर्न नसकेर सम्पत्ति लिलामको चुनौति कसरी टार्ने भन्ने चिन्तामा पर्दैछन् । 

देशको पूँजी बजारमा लगानी गरेर २ अर्ब रुपैयाँको शेयर जम्मा पारेका लगानीकर्ता टाट पल्टिएर अहिले रुनु कि हाँस्नुको अवस्थामा छन् भने उद्योग र शेयरबजार दुबैतिर लगानी गरेका लगानीकर्तामा झन् कति छटपटी छ भनेर सहजै अनुमान लगाउन सकिन्छ । 

देशको पूँजीबजार सुधार र स्वदेशी लगानीको सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका लगानीकर्तालाई सरकारले दमन गरेर थुनेको छ । ओली राजमा पूँजी बजार बिकास, बिस्तार, सुधार र लगानी सुरक्षाको कुरा उठाउनु ठूलो अपराध सावित भएको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडा र उनका ज्वाइँ सल्लाहकारहरु अहिले स्वदेशी लगानीकर्तालाई सकेसम्म कस्ने र विदेशीलाई सबै ढोका खोलेर सकेसम्म पोस्ने अभियानमा छन् । पूँजी बजारबाटै सरकारले धेरै स्वदेशी लगानीकर्तालाई भगाएको छ र अहिले रहेकालाई पनि सकेसम्म भाग्न बाध्य पार्दै छ । 

सबैतिरबाट स्वदेशी लगानीकर्तालाई भगाएर विदेशीका लागि ठाउँ खाली गर्ने योजना ओली सरकारले सफल पार्यो भने केही वर्षका लागि उपलब्धिको बखान गर्नसकिएला, तर विदेशीहरु लगानी उठाएर फर्किएपछि देश फेरि खोक्रो हुनेछ । फेरिएको कम्युनिष्ट सूत्रले दीर्घकालमा देशलाई हानी नै गर्नेछ । 

स्वदेशी लगानीकर्तालाई बलियो बनाएर राष्ट्रिय पूँजीको सुरक्षा गरी स्वाधीन अर्थतन्त्र निर्माण गर्नुको सट्टा विदेशी लगानीको आशमा रमाउनु आत्मरति मात्रै हो ।