काठमाण्डौ । कोरोना महामारीका कारण देशको अर्थव्यवस्था र मानिसको आर्थिक अवस्था निकै खस्किएको छ। यो बेला यदि कसैले लगानी कुरा गर्छ भने तपाइँ हामी पैसाको समस्या देखाउँछौँ। तर पैसाको समस्या त्यति नै छिटो हल हुन्छ जति छिटो हामी लगानी गर्न सुरु गर्छौं। 

हामीले बैंक खातामा मात्रै पैसा राखेर राम्रो प्रतिफल प्राप्त गर्न सक्दैनौँ। उचित प्रतिफलका लागि भरपर्दो क्षेत्रमा आम्दानी गर्न आवश्यक हुन्छ। त्यसैले केही सोचविचार र अनुसन्धान गरेर लगानी गर्न सुरु गर्नुपर्छ। अझै कम उमेरमै लगानी गर्न सुरु गर्यौँ भने भविष्यमा राम्रै कमाइ हुन्छ। यसका लागि यी ३ टिप्स फलदायी सावित हुन सक्छन्।

१. पहिलो कुनै ऋण छ भने सल्टाउनुस्

भविष्यमा राम्रै कमाइ गर्नुछ भने पहिला आफूमाथि रहेको ऋणको बोझ हटाउनुस्। त्यसो त तपाइँ हामीले जागिरको सुरुआत गर्दा कमैले ऋणको बोझ बोकेका हुन्छन्। तर यदि तपाइँ अभिभावकले तपाइँको पढाइ वा अन्य आवश्यक कार्यका लागि ऋण लिएका छन् भने त्यो तिर्ने कोसिस गर्नुहोस्। किन यस्ता ऋण छिटो तिरियो भने भविष्यमा साँवा–ब्याजको झन्झट बोकिरहनुपर्दैन र आफूसँग बचत भएको पैसा अन्य आम्दानी हुने क्षेत्रमा लगाउन सकिन्छ। 

२. थोरै–थोरै भए पनि लगानी गर्दै जानुस्

प्रायः मानिसहरु लगानी गर्न हिच्किचाउँछन्। कहिले तलब कम छ त कहिले घरायसी खर्च नै धान्न मुस्किल भन्दै लगानी गर्दैनन्। तर लगानी गर्न हिच्किचाउनु हुँदैन। बरु आफूले जति सकिन्छ त्यति नै लगानी गर्दै जानुपर्छ। त्यसका लागि सेयर बजार उत्तम विकल्प हुन सक्छ। सेयर बजारमा सुरुमै धेरै लगानी गर्नुपर्दैन। सेयर बजारमा आफूसँग जति छ त्यति नै लगानी गर्न सकिन्छ। सेयर बजारमा लगानी गर्न थालेपछि तपाइँमा लगानी गर्ने बानीको पनि विकास हुन्छ।

३. लगानीका क्षेत्रबारे आफैँ अध्ययन गर्नुहोस्

अहिले मिडियाहरुमा सेयर बजारको निकै चर्चा छ। तर मिडियाहरुमा आएकै खबरका भरमा सेयर बजारमा आफूले नबुझी लगानी गर्नु उचित हुँदैन। यदि तपाइँ सेयर बजारमा लगानी गर्न इच्छुक हुनुहुन्छ भने पहिले आवश्यक अनुसन्धान गर्नुहोस् र जानकारी प्राप्ति गर्नुहोस्। सेयर बजार होस् वा अन्य व्यापार सबै क्षेत्रमा आफूले सोचरविचार गरेर मात्र लगानी गर्नुपर्छ। तर अध्ययन अनुसन्धान गरेर गरिएको लगानीबाट तपाइँले मनग्य कमाउन सक्नुहुन्छ। – एजेन्सी