सुर्खेत । राष्ट्रिय सूचना प्रविधि केन्द्रले कर्णाली प्रदेशमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। सातै प्रदेशमा आयोजना हुने नागरिक एप सम्बन्धि साक्षरता कार्यक्रम कर्णाली प्रदेशमा सम्पन्न भएको हो। 

कार्यक्रममा विशिष्ट व्यक्ति, सरकारी अधिकारी, जनप्रतिनिधि, आईटी अधिकृत, निजी क्षेत्र, सरोकारवाला र सर्वसाधारणहरुको उपस्थिति थियो। 

नागरिक एप सम्वन्धि सचेतना कार्यक्रम बिहीबारदेखि कर्णाली प्रदेशको जुम्लाबाट सुरू गरेको थियो भने शुक्रबार सुर्खेतमा सञ्चालन भएको थियो। आज जेठ १४ गते घनगढी र भोलि जेठ १५ गते नेपालगञ्जमा आयोजना हुँदैछ। 

कार्यक्रमको समापन जेठ २६ गते गण्डकी प्रदेशको पोखरामा हुनेछ। नागरिक एपमा उपलब्ध सेवाहरुको बारेमा सरोकारवाला र सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम गरिँदैछ। डिजिटल साक्षरतालाई जोड दिँदै कार्यक्रमहरु सञ्चालन हुने जनाइएको छ। 

नेपाल सरकारले केही वर्षअघि सरकारी सेवाहरु सजिलो, छिटो र सुरक्षित तरिकाले मोबाइलबाटै उपलब्ध गराउने उद्देश्यसहित नागरिक एप प्रयोगमा ल्याएको थियो। नागरिक एप २७ लाख बढीले एप डाउनलोड गरेका छन् भने ५३ बढी सेवाहरु उपलब्ध छन्। 

एन्ड्रोइड र आईओएसमा उपलब्ध एप डाउनलोड गरेर प्रयोग गर्न केन्द्रले सबैलाई आह्वान गरेको छ। प्रयोगकर्ताको गुनासो र अन्य सेवाहरु थप्दै यसलाई प्रभावकारी बनाउने केन्द्रले जानकारी दिएको छ। नागरिक एप प्रयोग गर्न आफ्नो नाममा भएको मोबाइल नम्बर अनिवार्य गरिएको छ। त्यसपछि नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र वा ड्राइभिङ लाइनसेन्सबाट खाता खोल्न सकिन्छ।

यद्यपि नागरिकता लगायत कतिपय व्यक्तिगत विवरण गलत देखाउनेसमेत गरेको प्रयोगकर्ताको गुनासो छ। यसलाई सम्बोधन गर्न केन्द्रले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यलयहरुमा समन्वय गरेर विवरण सच्याउने काम गरिरहेको छ।