काठमाण्डौ । श्रीलंकाको आर्थिक अवस्था निकै बिग्रिँदै गएको छ। महँगी र १३ घन्टा लोडसेडिङको मारमा परेका जनताले सरकारविरुद्ध गरेको प्रदर्शन हिंसात्मक बनेपछि श्रीलंकामा कर्फ्यु लगाइएको छ। 

अब श्रीलंका सरकारले सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाएको छ। श्रीलंकामा आइतबारदेखि फेसबुक, ट्विटर, ह्वाट्सएप र इन्स्टाग्रामलगायतका सबै सामाजिक सञ्जाल सेवा बन्द गरिएको छ। 

सामाजिक सञ्जाल प्लेटफर्मले शनिबार रातिदेखि कोलम्बोलगायत धेरै सहरमा काम गर्न बन्द गरेको थियो। आज देशभर भइरहेका प्रदर्शनलाई रोक्न सरकारले यस्तो कदम चालेको जनाइएको छ।

श्रीलंकामा लगाइएको कर्फ्युको अवधिमा अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरुलाई परिचयपत्रमार्फत आवतजावत गर्न अनुमति दिइएको छ। यसबाहेक कूटनीतिक नियोगका सबै कर्मचारीले परिचयपत्र देखाएर यात्रा गरिरहेका छन्। 

श्रीलंकामा शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म सार्वजनिक आवतजावतमा रोक लगाइएको छ। कर्फ्यु अवधिमा सडक, पार्क, रेलमार्ग, समुद्र तटलगायत सबै सार्वजनिक स्थानमा मानिसलाई जान रोक लगाइएको छ।

श्रीलंका सरकारका अनुसार प्रदर्शनमा अहिलेसम्म ३ करोड ९० लाखको सरकारी सम्पत्तिमा क्षति पुगेको छ। सरकारका अनुसार मिरहाना क्षेत्रमा रहेको राष्ट्रपति निवासनजिक भएको प्रदर्शनका क्रममा अहिलेसम्म १७ प्रहरी अधिकारी गम्भीर घाइते भएका छन्।

कोलम्बोमा १३–१३ घन्टा विद्युत् कटौतीबाट पीडित जनता सडकमा उत्रिएर राष्ट्रपतिको राजीनामाको माग गर्दै आएकाले श्रीलंकाको आर्थिक दुर्दशाको अनुमान लगाउन सकिन्छ। जनतासँग खानेकुरा छैन। जनताले हिंसात्मक आन्दोलन गरिरहेका छन्। स्थिति यति बिग्रिएको छ कि राष्ट्रपति गोटाबाया राजापाक्षेले अप्रिल १ देखि देशमा संकटकाल लगाएका छन्। 

श्रीलंकाका राष्ट्रपतिको कार्यालयबाट जारी आदेशमा मुलुकको शान्ति सुरक्षा कायम गर्न, अत्यावश्यक वस्तुको आपूर्तिलाई निरन्तरता दिन यसो गर्न आवश्यक भएको जनाइएको छ। –एजेन्सी