काठमाण्डौ । चौतर्फी दवाबपछि सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको भारी करमा केही कटौति गरी मूल्य समायोजन गरेको छ । 

पेट्रोलको मूल्य बढेर प्रतिलिटर १९९ पुगेसँगै यसमा जोडिएको करको विषयलाई लिएर सरकार र नेपाल आयल निगमको चर्को आलोचना भएको थियो ।

प्रतिलिटर पेट्रोलमा कर मात्रै ६५ रुपैयाँ असूलेको भन्दै मूल्य घटाउन सरकारलाई चौतर्फी दवाब परेको थियो । दवाबकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाले कर कटौति गरेर भए पनि पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार आयल निगमले शनिवार मध्यरातिदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो । 

निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल–मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको छ । मूल्य समायोजनसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ निर्धारण भएको छ भने डिजेल–मट्टितेलको १६३ रुपैयाँ कायम भएको छ ।