काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाले २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै ३ दिनभित्र घरजग्गालगायतमा लाग्ने कर दाखिला गर्न समयसीमा दिएको छ। यदि ३ दिनभित्र कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी पनि महानगरले दिएको छ। 

महानगरले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका २३ वटा ठूला करदाताको कार्यालयस्थलमै पुगेर माइकिङ गर्दै आज बुधबारबाट ३ दिनभित्र अर्थात् साउन १६ गतभित्र सम्पत्ति कर बुझाउन ताकेता गरेको हो। 

उनीहरुबाट करिब ७० करोड कर असुली गर्न बाँकी रहेको अनुमान गरिएको छ। 

दिइएको समयभित्र पनि अटेर गरेर कर नतिरे ती करदाताको व्यवसायमा तालाबन्दी गर्ने, सम्पत्ति रोक्का गर्नेसहितको कडा कारबाही गरिने महानगरको राजस्व विभागले जनाएको छ। कर दाखिला नगरे राजस्व ऐन, स्थानीय सरकार सञ्चालन ऐन र प्रचलित कानुन, नीति, नियमअनुसार कडा कारबाही गरिने विभागको भनाइ छ। 

पटकपटक ताकेता गर्दा पनि सम्पत्ति कर नबुझाउनेहरुमा कान्तिपुर डेन्टल हस्पिटल, चिरायु हस्पिटल, देवेन्द्रलाल श्रेष्ठ, एनआरटी क्लब, युनाइटेड वर्ल्ड ट्रेड सेन्टर, बुद्धबारी कम्प्लेक्स, बागमती च्याम्बर, काठमाण्डौ इन्जिनियरिङ कलेज, नेपाल क्षयरोग केन्द्र, नेपाल रेडक्रम सोसाइटी, आदर कम्प्लेक्स र नेसनल हस्पिटल छन्।

त्यस्तै सहिद मेमोरियल हस्पिटल, कृषि सामग्री संस्थान, मनमोहन मेमोरियल कलेज एन्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, सुरज आर्केट, शुभश्री कोअपरेटिभ, काठमाण्डौ प्लाजा, नेपाल सेयर मार्केट, गोपालजी प्रोपर्टिज र स्टार मल पनि कर तिर्न बाँकी रहेको विभागले जनाएको छ। 

विभागले सम्पत्ति कर सम्बन्धित वडा कार्यालयबाटै उठाउँदै आएको छ।