चितवन । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले मधूमेह स्क्रिनिङ क्लिनिक सञ्चालनमा ल्याएको छ। 

मधूमेह (सुगर) का बिरामीहरुलाई सहज स्वास्थ्य सेवा दिनका लागि अस्पताल परिसरमा छुट्टै क्लिनिक सञ्चालनमा ल्याइएको हो।

नेपालमा दिनहुँ मधूमेहीहरुको संख्या वृद्धि भइरहेको र मधूमेहका बिरामी अस्तपताल आउने क्रम बढेसँगै क्लिनिक सञ्चालनमा ल्याईएको अस्पतालले जनाएको छ। अस्पतालले मध्य नेपालमा पहिलो आफूहरुले मधूमेह स्क्रिनिङ क्लिनिक सञ्चालनमा ल्याएको दाबी गरेको छ।

सुगरका रोगी तथा सम्भावित रोगीहरुले स्क्रीनिङ क्लिनिकमा समयमै निःशुल्क परीक्षण गरी स्वास्थ्य लाभ लिन सकुन् भन्ने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ।

सम्झौताअनुसार उक्त क्लिनिकमा हप्ताको सातै दिन बिहान ६ देखि ८ बजेसम्म मधूमेह समाजमा आबद्ध तथा अन्य सम्पूर्ण मधूमेहका बिरामीहरुको निःशुल्क सुगर जाँच (मधूमेह परीक्षण) गर्न सक्नेछन्। 

यस्तै मधूमेहका सम्पूर्ण बिरामीहरुलाई मधूमेह स्वास्थ्य जाँच प्याकेजमा ५० प्रतिशत छुट अस्पतालले दिएको छ। यो सुविधा एक बिरामीले हरेक ३ महिनामा एकपटक पाउने सम्झौतामा उल्लेख छ।

समाजका पदाधिकारीहरुले अस्पतालका रेडियोलोजी र फार्मेसी बाहेकका अन्य सम्पूर्ण सेवामा २० प्रतिशत छुट पाउने जनाइएको छ। मधूमेह स्क्रिनिङ क्लिनिकमा फोनबाट अग्रिम नाम लेखाएर पनि सेवा लिन सकिने जनाइएको छ।

दुवै पक्षको आपसी सहमतिमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने, मधूमेह रोग नियन्त्रण तथा उपचारका लागि सचेतना अभियान सञ्चालन गर्ने, स्वास्थ्य शिक्षा तथा अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने सम्झौतामा उल्लेख छ।

समाजका अध्यक्ष एमप्रसाद शर्माले मधूमेहका बिरामीहरुका लागि छुट्टै निःशुल्क स्क्रिनिङ क्लिनिकमा सेवा लिन पाइने र अन्य उपचारमा समेत छुट पाउनु खुसीको कुरा भएको बताए। समाजले एमप्रसाद शर्मा, केशव देवकोटा र लक्ष्मण पौडेललाई यो सेवा सहजीकरणका लागि तोकेको छ। 

यसैगरी अस्पतालका तर्फबाट समुदाय स्वास्थ्य सेवा विभाग (कम्युनिटी हेल्थ सर्भिस) ले सहजीकरण गर्ने अस्पतालले जनाएको छ। अस्पतालले मधूमेहसम्बन्धी सेवाका लागि ९८०२०१०००३ नम्बरको हटलाइन टेलिफोनसमेत व्यवस्था गरेको छ।